प्याराग्लाइडिङ र केवलकार एकसाथ

0
Shares

हेटौंडा,(नेस)
उत्तरी मकवानपुरको पर्यटकीय नगर थाहामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । थाहानगर–१० को विसिङ्खेलमा रहेको आइतबारे चौरबाट गरिएको उडान सफल भएको प्याराग्लाइडिङ प्रवद्र्धक तथा पर्यटन व्यवसायी बैकुण्ठ थापाले जानकारी दिनुभयो । विसिङ्खेलमा पाइलट सागर क्षेत्रीले प्याराग्लाइडिङ उडाउनुभएको थियो ।

थाहानगर–२, कुटीप्वाकलबाट यसअघि प्याराग्लाइडिङ गर्न सकिने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भइसकेको छ । प्याराग्लाइडिङको परीक्षण उडानमा पाइलट क्षेत्री र पर्यटन व्यवसायी बैकुण्ठ थापा सहभागी हुनुहुन्थ्यो ।

थाहानगर–१० का थापा काठमाडौंमा बसेर पर्यटन प्रवद्र्धनका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । थापाकै नेतृत्वमा विसिङ्खेलमा प्याराग्लाइडिङ परीक्षण उडान गरिएको हो । परीक्षण उडानका क्रममा युक्रेनका पर्यटन व्यवसायी आन्द्रेसहित १० नम्बर वडा अध्यक्ष हीराबहादुर गमाल, सदस्य रामकृष्ण गमाल तथा स्थानीयहरुको उपस्थिति थियो ।

परीक्षण उडानपछि काठमाडौंबाट नजिक रहेको विसिङ्खेलमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ उडाउन सकिने थापाले जानकारी दिनुभयो । यसका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् प्रक्रिया थालिने उहाँले बताउनुभयो ।

प्याराग्लाइडिङको सफल परीक्षणसँगै मकवानपुरको पर्यटकीय क्षेत्र आग्रा, टिष्टुङ, दामन, पालुङ, बज्रबाराहीजस्तै चित्लाङको विसिङ्खेलले पनि पर्यटकीय क्षेत्रको रुपमा परिचय बनाएको उहाँले बताउनुभयो ।
उत्तरी मकवानपुर थाहानगर–४ मा पर्ने सीमभञ्ज्याङदेखि भीमफेदीसम्म जोड्ने गरी केवलकार सञ्चालनबारे पनि सम्भाव्यता अध्ययन थालिएको छ । नगरप्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलगायतले केही विज्ञसहित स्थलगत अवलोकन गर्नुभएको छ ।

नगरपालिका, प्रदेश सरकार र नागरिकको संयुक्त लगानीमा करिब ३ सयदेखि ५ सय करोड खर्चिएर केवलकार सञ्चालनको प्रयास थालिएको हो । ड्रोनको सहायताले दुरीमापन गरिसकिएको नगरप्रमुख विष्टले बताउनुभयो ।
सीमभञ्ज्याङदेखि भीमफेदीको बाटोले छुने कुनै स्थानसम्म केवलकार जोडिनेछ । केवलकार करिब साढे ३ किलामिटर लामो हुने प्रारम्भिक अनुमान छ । केवलकारको संरचनाभित्र होटल, पर्यटन पार्क, सभागृहलगायत संरचना पनि पर्नेछन् ।

काठमाडौंतिरबाट विभिन्न मार्गहुँदै अन्य मुलुकका पर्यटक सहजै रमाइलो वातावरणमा रमाउन थाहानगर जानसक्ने अवस्था रहे पनि भारतीय पर्यटकलाई आकर्षित गर्न उक्त केवलकार महत्वपँर्ण हुने विश्वास लिइएको छ ।

सरकारले एक सय वटा नयाँ पर्यटकीय गन्तव्य घोषणा गर्दा मकवानपुरमा दामन र इन्द्रसरोवरको मैत्रीपार्क फाखेल परेका छन् । मकवानपुरमा दुवै पर्यटकीय गन्तव्य उत्तरी मकवानपुरकै हुन् । विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यमा मकवानपुरगढीलाई समावेश गरिएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रुपमा मनाउँदै छ ।