नेपालगञ्ज–दिल्ली बस सेवा शुरु

0
Shares

बाँके, (नेस) ।
नेपालगञ्ज–दिल्ली बस सेवा शुरु भएको छ । नेपालगञ्ज–दिल्ली हवाई उडानको बहस पनि उच्च तहमा जारी नै रहेको छ ।
भेरी यातायात प्रालिले नेपालगञ्जदेखि भारतको दिल्लीसम्म बस सेवा शुरु गरेको हो । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रिबन काटेर सेवाको शुभारम्भ गर्नुभयो । मुख्यमन्त्री पोखरेलले मानसरोबर कैलाश जाने भारतीय पर्यटकलाई यो बस सेवाले सुविधा दिने बताउनुभयो ।

‘झट्ट हेर्दा बस सेवा सामान्य लाग्छ । यसले दुई देशको सम्बन्धलाई जीवन्त बनाउन ठूलो सहयोग पु¥याउँछ, मुख्यमन्त्री पोखरेलले भन्नभयो, दिल्लीबाट मानसरोबर जाने तीर्थालुलाई यो बस सेवा ठूलो सघाउ पु¥याउँछ ।’

मुख्यमन्त्री पोखरेलले बस सेवा सुविधा र सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । ‘भारतमा पुगेका नेपालीलाई एकपटक मात्रै आउने हो, अहिले नै लुट्नुपर्छ भन्ने भावना पाइन्छ, मुख्यमन्त्री पोखरेलले थप्नुभयो, भारतीय भूमिमा पुगेका नेपालीको भारत सरकारले सुरक्षा गर्नुपर्छ । यता आउनेलाई हामीले सुरक्षा दिन्छौं ।’

उहाँले बस सेवाहरु तामझामसँग सञ्चालन थाले पनि केही समयमै बन्द हुने रोग नै रहेकाले त्यसतर्फ सचेत रहन प्रालिका अधिकारीलाई सुझाव दिनुभयो ।

नेपालगञ्जदेखि दिल्ली हवाई उडानका लागि दुई देशका बीचमा वार्ता भइरहेकाले उडान पनि छिट्टै हुने बताउनुभयो । ‘भारतबाट रुट प्राप्त हुन सकेको छैन । त्यो पनि छिट्टै प्राप्त हुने मैले विश्वास गरेको छु, पोखरेलले भन्नुभयो, सरकारले पूर्वपश्चिम रेलमार्गको अवधारणा अघि बढाएकाले त्यसले पनि नेपालगञ्जदेखि भारतीय शहर जोडिन्छ ।’

भारतीय राजदुताबासका वरिष्ठ अधिकृत निरजकुमार जयसवालले नेपालगञ्ज–दिल्ली बस सेवाले दुवै देशका जनतालाई सुविधा हुने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणा, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल लोकतान्त्रिक यातायातका नेता डेकनाथ गौतम, भेरी प्रालिका अध्यक्ष राजेन्द्र गिरी, महासचिव उमेश गुरागाईले बस सेवा सञ्चालनले दुवैतिर फाइदा हुने बताउनुभयो ।

भेरी प्रालिले दिनमा एउटा बस दिल्ली पठाउने छ । उताबाट पनि एउटा बस नेपालगञ्ज आउने छ । प्रालिसँग ९ वटा सुविधा सम्पन्न बस रहेको छ ।