अभिभावक विहीन बालिका बिचल्लीमा

0
Shares

नेपाल समाचारपत्र, बैतडी
आमाबुवाविहीन बैतडीको दशरथचन्द नगरपालिका–१० सतपालीका ६ जना बालिकाको बिचल्ली भएको छ । बुवाको मृत्यु भएको ३ महिनामै आमा अर्कैसँग पोइल गएपछि बालिका अभिभावक विहिन बनेका हुन् ।

बुवा राजुराम लावडको बिरामी भएर ३ महिनाअघि मृत्यु भएको थियो । १४ बर्षीया निलम, १२ बर्षीय नितु, ११ बर्षीय तृप्ती ,१० बर्षीय लीला, ६ बर्षीय बिन्दु र ३ बर्षीय ममता अहिले सहरा खोजिरहेका छन् । चिसोको समयमा आमा वुवा विहीन बालिकालाई खानबस्न समेत समस्या भएको भएपछि उनीहरुले सहयोगको लागी अनुरोध गरेका छन् ।

आमाले अर्कैसँग विहेगरी पछि निकै समस्या भएको बताउँदै निलमले भनिन्–‘घरमा खानेकुरादेखि लिएर ओढ्ने बिछ्याउनेको समेत अभाव छ ।’ सहराविहिन बालिकालाई दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद बहादुर चन्दले एक हजार ५ सय सहयोग गर्नुभएको छ भने अन्य स्थानीयको सहयोगमा ओढ्ने बिच्छ्याउने कपडा प्रदान गरिएको छ ।

बिचल्लीमा परेका बालबालिकालाई तत्काल सहयोग पु¥याउन दशरथचन्द नगरपालिकाले १० हजार रुपियाँ विनियोजन गरिसकेको नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताईन् ।