सडकको अवरोध हटाउन गएका प्रहरीमाथी आक्रमण, २ प्रहरी घाइते

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा सडकको अवरोध हटाउन गएका प्रहरी माथी आक्रमण भएको छ । चौरजहारी नगरपालिका–७ मेलैनाउलीस्थित सडक निर्माणको क्रममा स्काभेटरको चाबी लिने र सडक निर्माणमा गरेको अवरोध हटाउन गएको प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका छन् ।

आक्रमणमा परी प्रहरी हवल्दार निर्मला विक र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते हुन् । विकको ढाडमा चोट लागेको छ भने बस्नेतको ढाड र घुँडामा चोट लागेको छ । आक्रमण गर्ने २ सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमण गर्ने चौरजहारी नगरपालिका–४ का २८ वर्षीय निरक भण्डारी र सोही ठाउँका ३० वर्षीय प्रकाश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुसँगै चौरजहारी नगरपालिका–४ का ३३ वर्षीय चन्द्रबहादुर खड्का, वडा ८ का २८ वर्षीय सविन बुढाथोकी र ३२ वर्षीय बालाराम जैसीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चौरजहारी नगरपालिका–७ का बीरबहादुर कुमाल, ३२ वर्षीय खेमराज शर्मा, वडा १४ का २३ वर्षका नरेश लामिछाने, र चौरजहारी नगरपालिका–७ का ३८ वर्षीय शंकर जैसी पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माणको क्रममा मेलैनाउलीमा अवरोध गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको र अवरोध हटाउन खोज्दा प्रहरी माथी आक्रमण भएको थियो ।

नेपाली कांग्रेसले भने घटनाप्रति आपत्ति प्रकट गरेको छ । कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले व्यक्तिगत सम्पत्ति क्षति गरेर विकास गर्न नहुने भन्दै सर्वसाधारणको उठीबास हुने गरी सडक निर्माण थालिएकाले स्थानीय प्रतिरोधमा उत्रिएको बताउनुभयो ।