बाँके, (नेस)
‘आज त मेरो बढुवा भयो नि। साढे २२ वर्ष सुब्बा रहेका नेपालगन्ज कारागारका सहायक जेलर श्याम लामिछानेले अधिकृत भएको खुसीयाली साट्दै भने, माघ १० गते जेलमा आउनुहोला। मेरो बर्थ डे छ। धुमधामले मनाउनुपर्छ।’
‘जेलमा बर्थ डे मनाउने हो। अनि घरतिर जाने हो, कारागारका बन्दी र कर्मचारीका ‘बा’ लामिछानेले थपे, घर जाने बेलामा मानार्थ अधिकृत भएको खुसीयाली भव्य तरिकाले साटासाट गर्नुपर्छ।’ कारागारमा लामिछानेलाई सबैले ‘बा’ भनेर बोलाउँछन्।
२०६३ साउन ८ गतेदेखि लामिछाने नेपालगन्ज कारागारमा छन्। कहिले जेलर त कहिले सहायक जेलरको भूमिकामा। साढे १२ वर्ष जेलको प्रशासक बनेका लामिछाने माघ १० गते ५८ वर्ष पुग्दै छन्। अवकाश पाउन एक महिना बाँकी रहँदा गृहमन्त्रालयले लामिछानेलाई मानार्थ अधिकृत दिएर खुसीयाली थपिदिएको हो।
त्यसो त कुनै कर्मचारी एक पदमा १५ वर्ष बसेको छ भने उसलाई अवकास पाउने बेलामा एक पद बढुवा गर्ने चलन छ। लामिछानेले यो सौभाग्य साढे २२ वर्ष पाएका छन्। ‘मानार्थको मान खान आउनुपर्छ है’, लामिछानेले आफन्ती, चिनजान, शुभचिन्तकलाई निम्ता गर्दै छन्।
२०३९ मंसिर ९ गते दाङको तत्कालीन बेला गाविसको सचिवबाट निजामतिमा प्रवेश गरेका लामिछाने यो बीचमा धेरै ठाउँमा गाविस सचिवदेखि जनस्वास्थ्य कार्यालयमा काम गर्ने मौका पाए। पछिल्लो समयमा नेपालगन्ज कारागारको स्थायी कर्मचारीजस्तै भएका लामिछाने जेलबाट नै घर जाने भएका हुन्। हुन त यो बीचमा लामिछानेलाई सल्यान सरुवा गरिएको थियो। फेरि अवकाश पाउने बेलामा किन सरुवा गर्ने भनेर रोक्का गरियो।
कारागारको लामो बसाइमा लामिछानेका तीतामीठा अनुभव छन्। उनी भन्छन्, ‘तीताभन्दा धेरै मीठा अनुभव नै संगालेको छु।’ सैफु नाउ नाम गरेका कैदी भाग्दा र केही पहुँचवाला बन्दीलाई अन्यत्र सरुवा गर्दा लामिछानेलाई तनाव भएको थियो। जेल बसाइमा यो उनको सम्झनामा रहिरहने तीतो अनुभव रहने छन्। कारागारबाट भर्खरै कोठामा पुगेर कपडा चेन्ज गरिरहँदा उनलाई सैफु भागेको खबर पुगेको थियो। त्यसपछि तत्कालै खोजी थालियो। उनी फेला परेनन्। त्यो घटनाको छानबिन समिति गठन भयो। जेल प्रशासक, प्रहरी इन्चार्ज र डिउटीवालालाई निलम्बन गरियो। यो घटनामा उनको गल्ती त थिएन। तर, नैतिक जिम्मेवारी लिनुपर्ने थियो। धन्न, सैफु बर्दियामा फेला परे। सबैले राहत पाए।
जेल प्रशासकको कैदी बन्दीलाई गर्ने व्यवहार अझ महŒवपूर्ण हुन्छ। लामिछानेको सरल र मायालु व्यवहारले गर्दा बन्दीहरू खुसी भएको अन्य कर्मचारीहरू बताउँछन्। त्यसैले त सबैले उनलाई बा भनेर सम्बोधन गर्दछन्।
निजामतिमा एउटै पदमा लामो समयसम्म रहँदा र घर जाने बेलासमेत भइसक्दा बढुवा नहुँदा कति पीडा हुँदोरहेछ। लामिछानेको मुहारमा देखिएको खुसीयालीले प्रष्ट देखाउँछ। त्यसै पनि साढे २२ वर्ष एउटै पदमा बस्नु चानचुने कुरो होइन।











प्रतिक्रिया