विद्यालय आउन छाडे विद्यार्थी

0
Shares

धनवीर दाहाल, रुकुम
सानीभेरी गाउँपालिका १० स्थित सरस्वती मा वि अर्माडाँडामा अध्ययनरत कक्षा १० का विद्यार्थीहरु पौष १ गते देखि विद्यालय आउन छाडेका छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा र प्रदेश सांसद गोपाल शर्मा सहितको टोलि विद्यालय अनुगमन गर्दा कक्षा १० को कक्षा कोठा खालि भेटिएको हो । एस ई ई दिने जम्मा ८८ जना छात्र छात्रा विद्यालय आउन छोडी परीक्षा केन्द्र तोकिएको विद्यालय नुवाकोट डाँडामा गई ट्यूशन पढ्न थाले पछी सरस्वती मा वि अर्माडाँडा कक्षा १० को कक्षाकोठा खालि भेटिएको हो ।

आफुहरुले नियमित रुपमा आफ्नै विद्यालयमा पढाउछौं भन्दा भन्दै पनि नमानेर विद्यार्थीहरु नुवाकोट डाँडा गएको मा वि अर्माडाँडाका प्रधानाध्यापक टिका पुनले बताउनुभयो । विद्यार्थी आउन छोडेपछी अभिभावकलाई समेत चिठी पठाएको तर अभिभावकले पनि कुनै प्रतिकृया नदिएको पुनको भनाई छ । पुनले सानीभेरी गाउँपालिकाको गत पौष २ गतेको नियमित प्र. अ.बैठकमा आफ्नो विद्यालयमा एस ई ई दिने विद्यार्थी कक्षा छोडेर अनेत्र विद्यालयमा गएको समस्या बताउदा पनि विद्यालय निरिक्षक तथा श्रोत व्यक्तीले कुनै चासो नदिएको गुनासो अनुगमन टोलिलाई पोख्नुभयो ।

विद्यालयमा सबै विषयका शिक्षक स्टाफ हुँदाहुदै पनि विद्यार्थीहरु विद्यालय छोडेर अनेत्र पैशा तिरेर पढ्न जानु भनेको यहाँका शिक्षकहरु प्रति विद्यार्र्थी विश्वास नरहेको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको भनाई छ । प्रमुख शर्माले आगामी पौष १२ गते भित्र विद्यार्र्थी फिर्ता बोलाएर पठन पाठन सञ्चालन गर्न विद्यालय प्रशासनलाई निर्देशन दिनुभएको छ । हाल कक्षा १२ सम्मको पढाई हुदै आएको मा वि अर्माडाँडामा कक्षा ११ र १२ मा पनि अहिले सम्म पठन पाठन नभएको पाईएको छ ।

कक्षा ११ मा ५८ जना र कक्षा १२ मा ७८ जना विद्यार्थीले रजिष्ट्रेशन फाराम भरेका भएपनि एक जना पनि विद्यलयमा अहिले सम्म नियमित पढ्न नआएको शिक्षकहरुले बताउनुभयो । विद्यार्थी फाराम भर्न र परीक्षा दिन परीक्षा सेन्टरमा मात्र जाने गरेको शिक्षकहरुको भनाई छ । कोही प्राविधिक शिक्षा पढ्न बाहिर गएको र कोही कमाउन भारत सम्म जाने गरेकाले विद्यालयमा विद्यार्थी पढ्न नआउने विद्यालय प्रशासनको भनाई रहेको छ ।