पेन डाउन गर्नु देखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र सम्म
मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्राचार्यले प्रक्रिया मिचेर शिक्षक तथा कर्मचारी नियुक्त गरेको भन्दै विश्वविद्यालयका प्राध्यापकहरुले ‘पेन डाउन’ गरेका छन् । विश्वविद्यालयका प्रिन्सिपल डा.भुपेन्द्र बिष्टले प्रक्रिया मिचेर आफुख्ुसि आफ्ना मान्छेलाई शिक्षक तथा कर्मचारीमा नियुक्त गरेको भन्दै उनिहरुले एक दिनका लागि आइतवार ‘पेन डाउन’ गरेका हुन ।
प्रिन्सिपल विष्टले शिक्षक, कर्मचारीका लागि बिज्ञापन नै प्रकाशित नगरेर मनोमानी ढङ्गले २८ जना नियुक्त गरेकोले उक्त नियुक्ति तत्काल खारेजीको माग गर्दै दबाब दिन ‘पेन डाउन’ गरेको प्राध्यापक यज्ञराज पाठकले बताए ।
यहाँका विभिन्न विद्यार्थी संगठन पनि शिक्षक, कर्मचारीको बिषयलाई लिएर आन्दोलित छन् । विद्यार्थी संगगठनहरुको आन्दोलनलाई समर्थन गर्दै विश्वविद्यालयका प्राध्यापकहरुले पनि एक दिन ‘पेन डाउन’ गर्दै ऐक्यवद्धता जनाएका हुन् ।
आजदेखिका आन्दोलनका कार्यक्रम
सोमवार देखि बिहिवार सम्म हातमा कालोपट्टि बाधेर पठनपाठनको कार्य गर्ने र सोमवार ३ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेकोे प्राध्यापक यज्ञराज पाठकले बताए । मंगलबार कुलपति र सहकुलपतिलाई विश्वविद्यालयको वस्तु स्थितीबारे अवगत गराउदै ज्ञापनपत्र पठाउने र संगसंंगै सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत ज्ञापनपत्र बुझाउने आइतवार जारि विज्ञप्तीमा उल्लेख गरिएको छ । बुधवार स्थानिय जनप्रतिनीधि, सरोकारवाला निकाय र नागरिक समाज सबैको उपस्थीतीमा खुल्ला बहस तथा अन्तरक्रिया कार्यक्रम गर्ने सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको प्राध्यापक संघ कार्यसमितीका संयोजक पाठकले बताए ।
आफूहरुको मागको सम्बोधन नभए विकृति र विसंगतिका विरुद्ध अझ सशक्त तरिकाले आन्दोलन अगाडि बढाउने प्राध्यापकहरुले चेतावनी दिएका छन् । विश्वविद्यालयमा जारी आन्दोलन कारण पढाई प्रभावित भएको छ ।
के हो विश्वविद्यालय विवाद ?
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षक, कर्मचारी नियुक्तिको बिषयलाई लिएर प्राचार्य पछिल्लो समय निकै आलोचनामा छन् । विश्वविद्यालयमा अर्थशास्त्र बिषयको इकोनोमिट्री पढाउने शिक्षकको अभाव भएपछि एक जना मात्र शिक्षक नियुक्त गर्ने अवस्था आएको थियो । तर प्रिन्सिपल बिष्टले एक जना शिक्षक नियुक्त गर्नुपर्ने अवस्थामा चार जना शिक्षक आफ्नो मनमर्जीले नियुक्त गरेपछि उनि निकै आलोचनामा आएका छन् ।
एक शिक्षक राखिनुपर्ने ठाँउमा ४ जना शिक्षक राखिएपछि विश्वविद्यालयको माहोल आन्दोलन तर्फ मोडिएको छ । कार्यादेश भन्दा बढी शिक्षक र विभिन्न विभागहरुमा आवश्यकता भन्दा बढि नै कर्मचारीहरु नियुक्त गर्दा राजनीतिक दलका विभिन्न विद्यार्थी संघ संगठनहरुले भित्रि रुपमा आफ्ना पनि केहि शिक्षक तथा कर्मचारीहरु राख्नु पर्ने माग राख्दै नाम दिएको स्रोतले बताएको छ ।
पहिलो चरणमा प्राचार्यले आफुखुसि आफ्ना नातागोता नियुक्त गरेपछि केहि विद्यार्थी संगठनका नेताहरुले प्रिन्सिपल समक्ष आफ्नो लिस्ट समेत पेश गरेको र आफ्ना संगठन र पार्टीबाट नियुक्त नगरे आन्दोलन भड्काउने चेतावनी समेत दिएको स्रोत बताउँछ ।
ईन्ट्रीग्रेटीको रिले अनसन जारी
विश्वविद्यालयमा प्रिन्सिपलले आफ्नो निजि स्वार्थमा आफन्तहरुलाई प्रकृया पुरानै पुरा नगरी भर्ना गरिएको भन्दै ईन्ट्रीग्रेटी फोरमले रिले अनसन दिएको छ । एक सातादेखि फोरमले विश्वविद्यालय परिसरमा रिले अनसन जारी राखेको हो । ईन्ट्रीग्रेटी फोरमका अध्यक्ष चन्द्रदेव बडूले विश्वविद्यालय ध्वस्त पारिएको भन्दै रिले अनसन थालिएको बताए ।
उता प्रिन्सिपल बिष्ट भने आफुले अन्य विश्वविद्यालयको जसरी नै कार्यादेश अनुसार कर्मचारी राखेको जिकिर गर्छन् । ‘गएका वर्षमा पनि क्याम्पसलाई आवश्यक परेका बेला आफै शिक्षक, कर्मचारी राख्न पाउने व्यवस्था थियो, त्यहि अनुसार मैलेँ पनि शिक्षक तथा कर्मचारी भर्ना गरेको हुँ ।’ उनले भने ।
आफुले आवश्यकता अनुसार योग्य र दक्ष शिक्षक, कर्मचारी राखेको उनले बताए । नियुक्त गरिएका शिक्षक, कर्मचारीहरुलाई दैनिक ज्यालादारीमा राखिएकोले बिज्ञापन निकाल्नु आवश्यक नरहेको प्रिन्सिपल बिष्टको भनाई छ ।











प्रतिक्रिया