जापानी सम्राट्को हैसियतमा अकिहितोको अन्तिम सम्बोधन


टोक्यो, (एजेन्सी)
आगामी अप्रिलमा स्वेच्छाले राजगद्दी त्याग्न लागेका जापानी सम्राट् अकिहितोले सम्राट्को हैसियतले आइतबार आफ्नो जन्मदिनको उपलक्ष्यमा गरेको सम्बोधन कार्यक्रममा ८० हजारभन्दा बढी जापानीले उनको सम्मान स्वरूप उपस्थिति जनाएका छन्।

८५ वर्षीय अकिहितोले आफ्नो कार्यकालमा जापान कुनै पनि युद्धमा संलग्न हुनु नपरेकाले आफूले ठूलो राहत महसुस गरेको बताएका छन्। सो कार्यक्रममा उनले निकै भाववि≈वल मुद्रामा जापानी जनता र आफ्नी पत्नी साम्राज्ञी मिचिकोलाई तिनीहरूले आफूलाई गरेको सहयोग र समर्थनका लागि धन्यवाद दिएका छन्।

जापानको झन्डै २ सय वर्ष पुरानो राजतन्त्रको इतिहासमा यसरी स्वेच्छाले गद्दी त्याग्ने अकिहितो पहिलो सम्राट् भएका छन्। मुटुको शल्यक्रिया र प्रोस्टेट क्यान्सरको उपचार गराइसकेका अकिहितोको स्थानमा अप्रिलमा उनका जेष्ठ पुत्र युवराज नारुहितोले गद्दी आरोहण गर्ने भएका छन्।

अकिहितोको ३ दशक लामो शासनकाल जापानमा ‘हेइसेइ युग’ अर्थात् ‘शान्तिको उपलब्धि’बाट पनि चिनिन्छ। राष्ट्रको नाममा संक्षिप्त सम्बोधन गर्ने क्रममा अकिहितोले भूकम्प, अँँधीबेहरी र तापलहरजस्ता प्राकृतिक प्रकोपमा ज्यान गुमाउन पुगेको जापानीप्रति समवेदना र सहानुभूति पनि प्रकट गरेका छन्। यद्यपि अकिहितोको सम्राट् पदवी आलंकारिक मात्र हो।

उनको कुनै राजनीतिक शक्ति छैन। उनले आफ्नो शासनकालमा अधिकांश समय आफ्ना पिता सम्राट् हिरोहितोको कार्यकालमा दोस्रो विश्वयुद्धको दौरान जापानको गतिविधिबारे चेतना फैलाउने काममा खर्चेका थिए।

अकिहिताले दोस्रो विश्वयुद्धको दौरान चीन र कोरियाली प्रायद्वीपमा भएको जापानी सैनिक कारबाहीका लागि दुःख प्रकट गरेका छन्। उनले युद्धकालमा मारिनेप्रति सम्मान प्रकट गर्न थुप्रै प्रशान्त क्षेत्रीय युद्धभूमिमा भ्रमण गर्दा जापानकै दक्षिणपन्थी समूहहरूले उनको आलोचना गरेका थिए।