आईएससँग लडिरहने फ्रान्सको प्रतिबद्धता


पेरिस, (एजेन्सी)
फ्रान्स सरकारले सिरियामा इस्लामिक स्टेटसँग लडिरहेको गठबन्धनमा आफ्नो देशको सहभागिता कायम रहने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूलाई चकित पार्दै सैनिकहरूलाई स्वदेश फिर्ता गर्ने आदेश जारी गरेपछि फ्रान्सको उक्त टिप्पणी आएको हो।

फ्रान्सको युरोपेली मामिला मन्त्री नताली लोइसियुले सीन्युज टीभीलाई भनिन्– ‘अहिलेसम्मलाई निश्चितरूपमा हामी सिरियामा हुनेछौं। आतंकवादविरुद्धको लडाइँ अहिले समाप्त भएको छैन। यो साँचो हो, गठबन्धनले सिरियामा महŒवपूर्ण प्रगति गरेको छ तर यो लडाइँ चलिरहेको छ र चलिरहनेछ। फ्रान्सले अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनको हिस्साका रूपमा जोर्डनमा लडाकू विमान र इराकको सिरियाली सीमामा गोलाबारुद स्थापित गरेको छ। साथै जमिनमा पनि अज्ञात संख्यामा उसको विशेष बल रहेको छ।

बुधबार ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा आईएसको पराजयको घोषणा गर्दै ट्रम्पले भने– ‘हामी जित्यौं। हामीले उनीहरूलाई हरायौं र नराम्रोसँग हराएका छौं। हामीले जमिन फिर्ता लिएका छौं।’ उनले भने– ‘यसका लागि युवा, युवती, हाम्रा जनता उनीहरू सबै फिर्ता आउँदै छन्।’

यसबीच फ्रान्सका रक्षा मन्त्री प्mलोरेन्स पार्लीले ट्विटरमा आईएस नक्साबाट नहटेको र उसको जरा नउखेलिएको उल्लेख गरेको छ। ‘हामी निश्चितरूपमा यो आतंकवादी संगठनको अन्तिम चौकी ध्वस्त गर्नुपर्छ।’ –उनले लेखेका छन्।