अस्पतालको सेवा सुधार गर्न माग

0
Shares

यमलाल भुसाल, बुटवल
५ नम्बर प्रदेशसभामा दाङ जिल्लामा सञ्चालित राप्ती उपक्षेत्रीय अस्पतालको उपचारमा सुधार गर्न प्रदेश सरकारसमक्ष माग गरिएको छ। आइतबार बसेको प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर सत्तारुढ दल नेकपाकै सांसद उत्तरकुमार वलीले राप्ती उपक्षेत्रीय अस्पतालको उपचार सेवा प्रभावकारी नभएको टिप्पणी गर्दै सुधार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो।

प्रभावकारी उपचार सेवा र दक्ष जनशक्ति पनि नभएकाले दाङमा २ दिनअघि भएको बस दुर्घटनामा घाइते भएकाले राम्रो उपचार सेवा पाउन नसकी ठूलो मानवीय क्षति हुन पुगेको सांसद वलीले बताउनुभयो। गम्भीर घाइतेहरूलाई अघिल्लो दिन नै हेलिकोप्टरबाट काठमाडौं लगेको भए ज्यान बचाउन सकिने, तर एक दिन ढिला हुँदा घाइतेको ज्यान गएको सांसद वलीको भनाइ थियो।

सभामा नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले भूमि व्यवस्था आयोग तत्काल गठन गर्न माग गर्नुभयो। उहाँले पार्टीले चुनावमा पनि सुकुम्बासीलगायत भूमिसँग सम्बन्धित समस्या यथाशीघ्र समाधान गर्ने वाचा गरेकाले जनस्तरबाट यो माग उठेको र आयोग गठनमा ढिला नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले वैज्ञानिक ढंगले भूमि व्यवस्था गर्दै भूमिहीनलाई जग्गाको स्वामित्व नदिँदासम्म उत्पादन बढाउन नसकिने स्पष्ट पार्नुभयोे। चर्को बैंक ब्याजदर, विकास बजेट खर्च हुन नसक्नु र सुशासनको अभावमा उत्पादनमूलक क्षेत्रमा लगानी संकुचन भएकाले सुशासन कायम गर्न प्रदेश सरकारको ध्यान जानुपर्ने माग समेत गर्नुभयो।

सांसद श्रेष्ठले भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकार गम्भीर नदेखिएको गुनासो गर्नुभयो। बैठकमा प्रदेश ५ जाँचबुझ आयोगको गठन र संघ–संस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको छ। पेस भएका विधेयकबारे सांसदहरूले धारणा राख्ने र मन्त्रीले जवाफ दिएपछि निर्णयार्थ सभामा पेस हुनेछ। अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा व्यवस्था तथा प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि बैठकमा पेस गरिएको छ।