१३ वटै स्थानीय तह खुला दिसामुक्त

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
जिल्लाका १३ वटै स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। आइतबार धुलिखेल, पाँचखाल नगरपालिका र विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएसँगै १३ वटै तह खुला दिसामुक्त भएका छन्।

स्थानीय तह घोषणा भएसँगै पौष १३ गते शुक्रबार जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी गरिएको छ। आइतबार धुलिखेल नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सबै नागरिकको पहुँच शौचालय प्रयोगमा भएकाले अब पूर्ण सरसफाइको अभियान शुरू भएको बताए।

स्थानीय सरकारले सबै नागरिकलाई पूर्ण सरसफाइमा पु¥याउन शौचालय प्रयोग पहिलो खुट्किलो भएको उनले बताए। नगरप्रमुख अशोक ब्याञ्जुले नगरभित्र रहेका १२ वटाका वडाध्यक्षहरूलाई खुला दिसामुक्त वडा घोषणा गरिएको प्रमाणपत्र वितरण गरेका थिए। लगत्तै समन्वय प्रमुख केसीले नगरप्रमुख ब्याञ्जुलाई नगरपालिका खुला दिसामुक्त भएको घोषणासहितको प्रमाणपत्र वितरण गरिएको थियो।

नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिकालाई सरसफाइ, शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य विकासका पूर्वाधारमा नमुना बनाउने उद्देश्यले एक घर एक खानेपानी र पूर्ण सरसफाइका लागि आवश्यक सूचकहरू पूरा गर्ने गरी ढल व्यवस्थापन, सरसफाइ र स्वास्थ्यमा ध्यान दिई योजनाहरू विनियोजन गरिएको बताए। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउन आवश्यक पूर्वाधारहरूको निर्माणका लागि स्थानीय सरकारहरूले कार्य शुरू गर्नुपर्ने बताए। सामाजिक कुकुरले गर्ने खुला दिसाको समेत व्यवस्थापन गरी नगर र गाउँपालिकाको खुला क्षेत्र सरसफाइ गर्नुपर्ने प्रजिअ राउतले बताए।

उपप्रमुख विमला शर्माले सरसफाइसम्बन्धी आचारसंहिता वाचन गरेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुर्इंटेलले नगरभित्र रहेका ७ हजार ९ सय २ घर परिवारमध्ये ८९ घरधुरीबाहेक अधिकांशले व्यक्तिगत शौचालय प्रयोग गर्ने गरेको बताए। ८९ घरधुरीले सामूहिक शौचालय प्रयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत लुइंटेलले बताए। कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेका रामकाजी काफ्ले, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनालगायतले सरसफाइमा नगरपालिकाले खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए।

९९ प्रतिशत घरमा शौचालय निर्माण सकिएकाले जिल्लालाई नै खुला दिसामुक्त गर्ने निर्णय यसअघि गरिएको थियो। स्थानीय सरकार पनौती, नमोबुद्ध नगरपालिका तथा खानीखोला, बेथान्चोक, गाउँपालिकालगायतमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ।