गोली लागेर प्रहरी जवान घाइते भएको सम्बन्धमा छानविन समिति गठन

0
Shares

ललितपुर ।
महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङ ललितपुरको कार्यालय प्रमुख सुत्ने कोठामा विपद व्यवस्थापन महाशाखा सामाखुशीमा कार्यरत प्रहरी जवान रोशन श्रेष्ठ शुक्रवार राति गोली लागेर घाइते भएको घटना सम्बन्धमा छानवीन गरी प्रतिवेदन पेश गर्न महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रको नेतृत्वमा ५ सदस्यीय छानवीन समिति शनिबार गठन गरिएको छ ।

दोलखा बैतेश्वर गाउँपालिका(२ गैरीमुदी घर भएका २२ वर्षीय प्रहरी जवान श्रेष्ठ एकै गाउँको साथी रहेका उक्त प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङलाई भेट्न गएको अवस्थामा प्रहरी सहायक निरीक्षक तामाङले पेस्तोलबाट गोली अनलोड गर्ने क्रममा अकस्मात पड्कन जाँदा प्रहरी जवान श्रेष्ठको बायाँ गालामा गोली लाग्दा घाइते भएकोले तत्काल उपचारको लागि किष्ट अस्पताल ईमाडोल लगिएको र प्रारम्भिक उपचार पश्चात नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक तामाङलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सो परिसरले जनाएको छ ।