निर्मला हत्याकाण्डः अनुसन्धानका लागि नियन्त्रणमा रहेका चौधरी छुटे

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
निर्मला हत्याकाण्डको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका कञ्चनपुरका बिशाल चौधरी छुटेका छन् । भीमदत्त नगरपालिका–१८ का १६ वर्षिय चौधरीलाई घटनामा शंकास्पद भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि कुनै ठोस प्रमाण फेला नपारेपछि छाडेको हो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलिले काठमाडौँबाट नियन्त्रणमा लिइएका भीमदत्त नगरपालिका–१८ का प्रदिप रावलको बयानपछि छानविनका लागि काठमाडौँ बोलाएको थियो । तर रावल भने अझै पनि छुटेका छैनन् । उनि माथि छानविन जारी रहेको प्रहरीले जनाएको छ । उनको बयानका आधारमा उनका सहकर्मी विशाल र दिनेश चौधरीलाई काठमाडौँ झिकाएको थियो ।

दिनेश भने यसअघि नै छुटेका थिए । शनिबार चौधरीलाई काठमाडौंबाट कञ्चनपुर ल्याइएको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको समयमा चौधरी कुखुरा चोरीको आरोपमा प्रहरी नियन्त्रणमा रहेको रेकर्ड देखिएकोले उनको घटनाको संलग्नतामा कुनै ठोस प्रमाण फेला नपारेको छोडिएको प्रहरी स्रोतको भनाई छ ।

डिएनए रिपोर्ट नआएकाले काठमाडौंबाटै भेरिफाई गरेर विशाललाई छाडेको हुन सक्ने कञ्चनपुरका डिएसपी कृष्णराज ओझा बताउँछन् । शनिवार सम्म डिएनए रिपोर्ट कञ्चनपुर नआएको उनले जनाए ।

कञ्चनपुर प्रहरीले यातना दिएकाले डरले अपराध स्वीकार गरेको विशालले बताएका छन् । ‘काठमाडौमा सोधपुछ मात्र भएको तर कञ्चनपुरमा भने मलाई यातना, धम्की र प्रलोभन देखाइयो ।’ उनले भने ।

उता कञ्चनपुरका डिएसपी ओझाले सोधपुछका लागि मात्र विशाललाई अभिभावकसहित काठमाडौं पठाएको तर उनलाई कुनै यातना दिने काम नभएको उनले दाबी गरे ।