बैतडीका २ दर्जन वडा सडक बिहीन

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
स्थानीय तहमा जनप्रतिनिधि आएको १ बर्ष बढी भईसक्दासमेत बैतडीका करिब २ दर्जन बढी वडा कार्यालय सडक विहीन रहेका छन् ।
४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडामध्ये २२ वडा अझै पनि सडकविहीन रहेका हुन् । साथै दुई स्थानीय तहका केन्द्रमा समेत सडक पुगेको छैन् ।

सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको सम्वन्धित स्थानीय तहले जनाएका छन् ।
जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिका सबैभन्दा बढी ६ वडाहरु सडक सञ्जालविहीन रहेका छन् । सिगास गाउँपालिकाको वडा नं १, २ र ३ नं वडाबाहेक अन्य सबै वडाहरुमा सडक सञ्जाल नपुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । वडा नं ४,५,६,७,८ र ९ नं वडा कार्यालयमा सडक पुगेको छैन् ।

यस्तै पुचौर्डी नगरपालिकाका ५ वडा सडकविहीन रहेका छन् । वडा नं २,३,४,८ र ९ नं वडा कार्यालयमा सडक पुग्न नसकेको पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए ।

डिलाशैनी गाउँपालिकाको वडा नं १ , ४ र ७ को कार्यालयमा सडक पुगेको छैन् । पाटन नगरपालिकाको १,५ र ७ नं वडा कार्यालय सडकविहीन छ भने सुर्नया गाउँपालिकाको ६,७ र ८ मा पनि सडक नपुगेको गाउँपालिका अध्यक्ष वीर बहादुर विष्टले जानकारी दिए ।
मेलौली नगरपालिकाको वडा नं ४ र दोगडाकेदार गाउँपालिकाको वडा नं १ को कार्यालय पनि सडकविहीन रहेको छ ।

दशरथचन्द नगरपालिका , शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका सबै वडामा सडक सुविधा रहेको सम्वन्धित स्थानीय तहहरुले जनाएका छन् ।

सडक नपुगेका वडाका नागरिकहरु अझै पनि यातायात सुविधावाट वञ्चित भएका छन् ।