सलिम अन्सारी, प्यूठान
बस्तीको शिरमा अग्लो डाँडो। डाँडाको काखमा प्राकृतिक रूपमै बनेको दह। त्यसो त चारैतिर डाँडै डाँडा छन्। घना सल्लेरी वनले घेरिएको प्राकृतिक दहको दृष्य हेर्दा मन खुसीले फुरूंग हुने गर्छ।
सरूमारानीको चुलीबाट बाह्रै महिना हिमशृंखलादेखि तराई मधेश र भारतका समथर फाँट तथा प्राकृतिक भू–बनोट हेर्न सकिन्छ। फागुन÷चैतमा फुल्ने लालिगुराँसले सिंगारिने दृश्यहरूको सौन्दर्य बयान गर्नुभन्दा पुगेरै अनुभव गर्न मज्जा हुन्छ। सरूमारानी गाउँपालिका–६ कुटिचौर गाउँको शिरमा रहेको पर्यटकीय ‘किमिचौर दह’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउँछ। डाँडाको बीचमा रहेको दह रमणीय र आकर्षक भए पनि आन्तरिक पर्यटकको गन्तव्य बन्न सकेको छैन।
प्रशस्त पर्यटकीय सम्भावना बोकेको तिरामको किमिचौर दह प्रचार–प्रचार र संरक्षण अभावले छायाँमा परेको छ। दहको आकर्षणअनुसार प्रचारप्रसार हुन नसकेको स्थानीयले बताए। ‘यसको संरक्षणमा कसैको ध्यान पुगेन’, लालबहादुर रोकाले भने– ‘गाउँको पर्यटकीय क्षेत्रमा ध्यान जावस्।’ यो दहले गाउँको सुन्दरता मात्र नदिएर स्थानीयलाई आवश्यक पानीसमेत अपूर्ति गर्दै आएको स्थानीय टंकबहादुर उलुङेले बताए। उनका अनुसार दहको पानी स्थानीयले कपडा धुन, गाईभैंसीलाई खुवाउन प्रयोग गर्छन्। दहको राम्रोसँग संरक्षण नभएको वडाध्यक्ष तुलबहादुर रोका स्वीकार्छन्। ‘दह निकै सुन्दर छ’, गाविस पूर्वअध्यक्षसमेत रहेका उनले भने– ‘राम्रोसँग संरक्षण गर्न प्रयास थालेका छौं।’ केही वर्षअघि तत्कालीन जिविसले दिएको १ लाख रुपियाँले केही पर्खाल लगाइएको थियो।
स्थानीय तहको निर्वाचनपछि सरूमारानी गाउँपालिकाले दहको संरक्षण गर्ने योजना बनाएको रोकाले सुनाए। ‘धेरैपटक गाउँँपालिका प्रमुखसहितको टोलीले यस भेगको अवलोकन गरिसक्नुभएको छ’, उनले भने– ‘पर्यटन विकासमा पालिकाले बृहत योजना बनाएको छ।’ दहमा बर्सेनी माघेसक्रांतीमा मेला लाग्ने गर्छ। यहाँ नुहाउन स्थानीयका साथै दाङको लोहारपानी, मुरकुटी क्षेत्रवासीसमेत आउने गर्छन्। दाङ भालुबाङ–प्युठान सडकको बांगेखोलाबाट दहसम्म मोटरबाटो निर्माण भएको छ। सडक पुगेपछि केही आन्तरिक पर्यटक अवलोकन गर्न आउन थालेको स्थानीय बताउँछन्। ‘पहिले सडक नभएकाले पनि दह ओझेलमा परेको हो’, स्थानीय लक्ष्मी मगरले भनिन्– ‘सडकले गाउँ नै सुगम भएको छ।’
गाउँसम्म बस आउन थालेकाले दह हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्। यहाँ आउनेले स्थानीय उत्पादन मह, सिमी, बोडीको दाल, खुर्सानी, बेसार र अदुवा किनेर लग्ने गरेको उनले बताइन्। ‘दहले हाम्रो गाउँको चिनारी दिएको छ’, उनले भनिन्– ‘संरक्षण र प्रचारप्रसार भए गाउँलेको आयआर्जनसमेत बढ्ने थियो।’ तिरामको दह संरक्षण गर्न गाउँपालिकाले गतवर्ष ३ लाख रुपियाँ छुट्टाएको थियो। यसपालि पनि ९ लाख रुपियाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।
‘गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्र तिरामको दह, ऐरावती मन्दिर र सरूमारानीको डाँडो हो’, उनले भने– ‘पर्यटकीय क्षेत्रको संरक्षण गर्दै छौं।’ उनले पर्यटन क्षेत्रको प्रचारप्रसार र संरक्षण गरेर पर्यटक भिœयाउने र त्यसबाट हुने आम्दानीलाई गाउँपालिकाको स्रोतका रूपमा उपयोग गर्ने बताए ।भालुवाङबाट प्युठान प्रवेश गर्दा मुखैमा पर्छ सरूमारानी गाउँपालिका।
सडक यातायात भएर यहीको ददेरीस्थित दुर्गा भगवती मन्दिर, फोर्साबाङको मदनआश्रित पार्क, बड्डाँडाको गढी दरबार, रानीकुवा अवलोकन गर्न सकिन्छ। पदमार्ग हुँदै पुठाखोला दरबार, सिद्धलेक र सरूमारानीको चुली छिचोल्दै दह पुग्न सकिन्छ। यिनै संम्पदाहरूको एकीकृतरूपमा प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न आफू लागिपरेको पालिका अध्यक्ष विश्वकर्माले बताए। उनले पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि डीपीआर शुरू गरिएको सुनाए। भालुबाङ–प्युठान सडकको बांगेखोला किनारैकिनार निर्माण भएको १५ किलोमिटर मोटरबाटोबाट तिरामको दह पुग्न सकिन्छ।











प्रतिक्रिया