सांसद खतिवडाले घरभाडा फिर्ता गर्ने

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुर–२ बाट प्रतिनिधिसभामा निर्वाचित विरोध खतिवडाले घरभाडाको रकम फिर्ता गर्ने भएका छन्।
काठमाडौं उपत्यकामा घर भएका सांसदहरूले समेत घरभाडा रकम लिएको भन्ने समाचार सार्वजनिक भएपछि उहाँले उक्त रकम सचिवालयको त्रुटिका कारण आफ्नो खातामा आएको भन्दै फिर्ता गर्ने बताउनुभएको हो।

सांसद खतिवडाले सचिवालयमा आफूले काठमाडौंमा घर भएको जानकारी गराएको भए पनि सचिवालयले सिधै खातामा पैसा हाल्दा घरभाडासमेत एकमुष्ट हालेको र आफूले उक्त विषय याद नगरेको बताउनुभयो।

‘सांसदहरूको खातामा सिधै सचिवालयबाट पैसा जान्छ। केही पैसा लेबी कट्टा हुन्छ र केही कर कट्टा हुन्छ। त्यसकारण मैले के–कति पैसा प्राप्त गरें भन्ने विषय याद गरिनँ’ –उहाँले भन्नुभयो। उहाँले आफूले उक्त रकम फिर्ता प्रक्रिया अबको केही दिनमा गर्ने बताउनुभयो।

काठमाडौंमा घर, महल हुने सांसदले समेत घरभाडा लिएको भन्ने अनुसन्धानात्मक समाचार प्रकाशनपछि यस विषयले सामजिक सञ्जालमा समेत व्यापक चर्चा परिचर्चा पाएको थियो।