नेपाल समाचारपत्र, पोखरा
तमु ल्होसारको अवसरमा सेञ्चुरी युवा क्लब, छोम्रोङद्वारा आयोजित १७औं तमु ल्होसार मेला शुरू भएको छ। ‘व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको मेला पुस १० गतेसम्म चल्नेछ।
मेलाको शुभारम्भ गर्दै गण्डकी प्रदेशका सांसद राजीव पहारीले छाम्रोङ र अन्नपूर्ण आधार शिविरको विकास गरी यस क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्न विशेष पहल गरिने बताए। उनले सडक विस्तारले पदयात्रा मार्ग छोटिँदै गएको र जलवायु परिवर्तनको असरले हिमालहरू काला पत्थरमा परिणत भएको प्रति चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरण र वैकल्पिक पदयात्रा मार्गका लागि गुरूयोजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे।
अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिमबहादुर गुरूङले पर्यटन पूर्वाधार विकासका लागि सराकोरवाला निकायको ध्यानाकर्षण गर्दै आएको बताए।
कार्यक्रममा अन्नपूर्ण सेञ्चुर पर्यटन समितिका अध्यक्ष ललित गुरूङ, स्थानीय धावक अमृत गुरूङ, शनिस गुरूङलगायतका व्यक्तिलाई सम्मान गरिएको थियो।
क्लबका अध्यक्ष मिकास गुरूङको सभापत्विमा भएको कार्यक्रममा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरूङ, अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका श्याम गुरूङ, मेला संयोजक राजकुमार गुरूङ, छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरूङ, स्थानीय समाजसेवी नजरमान गुरूङ, क्लबका सचिव दिलिप गुरूङलगायतका वक्ताले मेलाका विविध पक्षबारे चर्चा गरेका थिए।
मेलामा पुरूष भलिबलतर्फ १७, पुरूष बास्केटबलतर्फ ११, महिला भलिबल ७ समूहले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै प्रौढ भलिबल, रसी तान्ने, ठेलो हान्नेजस्ता विभिन्न खेलकुद सँगसँगै सांस्कृतिक कार्यक्रम समावेश गरिएको मेला संयोजक राजकुमार गुरूङले जानकारी दिए।











प्रतिक्रिया