झिलमिला तालको अध्ययन शुरू

0
Shares

मनोज भट्ट, महेन्द्रनगर
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले भीमदत्त नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य झिलमिला ताल अध्ययन शुरू गरेको छ। भीमदत्त नगरपालिका कार्यालयसँग सहकार्य गरी झिलमिला ताल संरक्षण र पर्यटन पबद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्न अध्ययन गर्न शुरू गरिएको हो।

समितिका सदस्य विदुर भारतीसहितको प्राविधिक टोली बिहीबार झिलमिला ताल प्रस्थान गरेको छ। भीमदत्त नगरपालिका नगरप्रमुख सुरेन्द्र विष्टले टोलीलाई बिदाइ गरेका छन्। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य भारतीले झिलमिला ताल संरक्षण प्रबद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्न अध्ययन गरिएको बताए।
‘यस वर्ष तालका लागि १५ लाख बजेट विनियोजन गरिएको छ। त्यो बजेटबाट झिलमिलामा के गर्न सकिन्छ भने अध्ययन गर्छौं। त्यसका लागि प्राविधिकसहितको टोली त्यतातिर जाँदै छौं।’ –समितिका सदस्य भारतीले भने।

समितिले यसअघि भीमदत्त नगरपालिका–१ बाराकुण्डमा बाह्रकुण्ड ताल रिचार्जका लागि जल पुनर्भरण गरेको थियो। अहिले बाराकुण्डमा १२ ताल पानीले भरिएका छन्।
चुरे क्षेत्रका ताल तलैयामा पानी रिजार्चका लागि समितिले कार्यक्रम सञ्चालन गर्दै आएकाले गतवर्ष बाराकुण्ड र यस वर्ष झिलमिलामा कार्यक्रम गर्न लागिएको सदस्य भारतीले बताए।

अध्ययन टोलीमा समितिका सदस्य भारतीसहित समितिका सहायक वन अधिकृत शंकरकुमार गिरी, वन तथा जलाधार विज्ञ सुरज थापा, शोभराज अधिकारी, प्राविधिक सहायक हेमराज ओझा, भीमदत्त नगरपालिकाका वातावरण विकास अधिकृत पदम जोशीलगायतका छन्।

भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने दैनिक तीनपटक रंग फेर्ने झिलमिला तालमा पानीको सतह वर्षौंदेखि यथास्थितिमा छ। चारैतिर घना जंगल भएको तालमा रूखका पात नदेखिनु र वर्षौंदेखि एकै आकारका माछा पाइने भएकाले विचित्रको तालका रूपमा लिने गरिएको छ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए।
‘यो विचित्रको ताललाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार, पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएका छौं’ –नगरप्रमुख विष्टले भने।

नगरप्रमुख विष्टले ताललाई पर्यटकीय गन्तव्य बनाउन राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसँग सहकार्य गरिएको बताए। तालसहित चुरे क्षेत्र संरक्षणका लागि परशुराम नगरपालिकासँग समझदारी गरिएको नगरप्रमुख विष्टको भनाइ छ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष ताल संरक्षणका कार्यक्रम सञ्चालन गर्न १५ लाख बजेट विनियोजन गरेको छ। समितिले चुरे संरक्षणका लागि स्थानीयलाई सचेत गराउन विद्यार्थीलाई चुरेसम्बन्धी जानकारी लेखिएका कापी वितरण गरेको छ।