धरान–चतरा–सिन्धुली–हेटौंडा सडक पश्चिम खण्डको ४० प्रतिशत काम सम्पन्न

0
Shares

बुद्ध नेपाली, सिन्धुली
पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको पश्चिम खण्ड निर्माणको काम तीव्र गतिमा अघि बढेको छ।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको सडकको पश्चिम खण्डमा सडक संरचना निर्माण,पुल निर्माण, कजवे, ≈युमपाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्टलगायतका संरचना निर्माणको काम धमाधम अघि बढेको हो।
सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवनपुरको हेटौंडा महानगरपालिका–६ चौगडासम्मको कुल १ सय १५ किलोमिटरमध्ये हालसम्म पुल र सडक गरी करिब ४० प्रतिशत सडक निर्माणको काम सकिएको आयोजनाको दाबी छ।
कुल १ सय १५ किलोमिटर खण्डअन्तर्गत सडकतर्फ करिब ३० प्रतिशत र पुलतर्फ ५०–५५ प्रतिशत काम सम्पन्न भएको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर तथा सूचना अधिकारी प्रकाश पौडेलले बताए।
आयोजनाको पश्चिम खण्डको १० किलोमिटर सडकमा पिच नै भइसकेको छ। बाग्मती नदीदेखि मकवानपुरको फापरबारी छतिवनसम्मको १० किलोमिटर सडक पिच भएको इन्जिनियर तथा सूचना अधिकारी पौडेलले जानकारी दिए।
अहिले सडक निर्माणको काम धमाधम अघि बढेको छ। उनले भने– ‘सुरुआतको केही समय सडक सीमाभित्रको घरटहरा हटाउँदै क्षतिपूर्ति दिन, फास्ट ट्रयाकसँग जोडिएको स्थानमा व्यवस्थापन गर्न, रूखहरू कटान गर्न, सडकमा पर्ने पोल र पाइपहरूको व्यवस्थापन गर्न मुख्य समस्या थियो। अहिले सबै हल हुँदै गएको छ।’
१ सय १५ किलोमिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ≈युमपाइप ३ सय ९७ वटा, बक्स कल्भर्ट १९, स्ल्याब कल्भर्ट ४ रहने इन्जिनियर पौडेले जनाए। ३३ वटा पुलमध्ये ८–९ वटा पुल निर्माण सम्पन्न भएको र बाँकी पुलहरूको जग र सवस्ट्रक्चर निर्माण भइरहेको इन्जिनियर पौडेलेको दाबी छ।
३ वर्ष निर्माण अवधि रहेको सडक आयोजनालाई कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले २०७३ कात्तिक २२ गते ठेक्का सम्झौता गरेको थियो। ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइमै पिच हुने र त्यसमाथि ७ मिटर चौडाइमा दोस्रो लेयरमा पिच हुने इन्जिनियर पौडेलेको भनाइ छ।
आयोजनाको कुल लम्बाई ३ सय १८ किलोमिटरमध्ये उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किलोमिटर पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटर सडकलाई पश्चिमी खण्डको रूपमा विभाजन गरिएको छ। १ सय १५ किलोमिटर रहेको पश्चिम खण्डको मकवानपुरमा ४८ दशमलव ६१ र सिन्धुलीमा ६६ दशमलव ४३ किलोमिटर रहेको छ।
१ सय १५ किलो मिटर सडक स्तरोन्नतिका लागि ६ सय करोड र ३३ वटा पुल निर्माण गर्न ३ सय करोड गरी कुल ९ सय करोड रुपियाँमा सम्झौता भई निर्माणकार्य भइरहेको छ।
धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत कमलामाई नगरपालिकाको शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकमा देखापरेको समस्या समाधान गर्ने सहमति भएको छ।
राजमार्ग निर्माणअघि गरिएको नक्सांकनभन्दा वैकल्पिक ठाउँबाट ५ किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा जिल्लाका राजनीतिक दल, स्थानीय तह, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधि र सरोकारवालाबीच सहमति भएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बताए।
नक्सांकन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक, साङबाले, खट्टारका दर्जनौं भौतिक संरचना हटाउनुपर्ने र जसले गर्दा धेरै मानिस विस्थापित तथा सुकुम्बासी हुने भन्दै स्थानीयले विरोध जनाएपछि नक्सांकन गरिएको स्थानबाट नभई अन्यत्रबाटै विकल्प खोज्नुपर्ने स्थानीयले माग गरेपछि त्यस क्षेत्रको सडक विस्तारमा विवाद भएको थियो।
आयोजनाले विवाद समाधान गर्र्र्दै वैकल्पिक ठाउँ छनोट गर्न कमलामाई नगरपालिकालाई जिम्मा दिएको थियो। जसअनुसार राजनीतिक दल, संघ तथा प्रदेशका सांसद, प्रशासन तथा स्थानीय सरकारले नक्सांकन गरिएको स्थानभन्दा उत्तरबाट साविक हाज्माको २ नम्बर गेट हुँदै कुमाल फाँट भई खट्टार जोड्ने सहमति भएको नगरप्रमुख खत्रीले बताए।
कुमाल फाँटमा पनि नयाँ बस्ती बढ्दै गएकाले विवाद हुन थालेपछि त्यस क्षेत्रको शहरीकरण गर्दै सडक विस्तार गर्ने सहमति भएको र सोहीअनुसार शहरीकरणको डीपीआर तयारको प्रक्रिया शुरू हुन थालेको नगरप्रमुख खत्रीको भनाइ छ।