लगानीकर्ताले अनशन तोडे

0
Shares

काठमाडौं, (नेस)
पुँजी बजार सुधारको माग राख्दै आमरण अनसन बसेका शेयर लगानीकर्ता दबाव समूहले बिहीबार आफ्नो अनसन तोडेका छन्। दबाब समूहका संयोजक हरि ढकाल र अर्का लगानीकर्ता तिलक कोइराला गत आइतबारदेखि अनसनमा बसेको थिए।

आमरण अनसनका कारण स्वास्थ्य खराब भएको र सरकारले आफूहरुलाई राजनीतिक दृष्टिले हेरेको भन्दै लगानीकर्ताले अनशन तोड्नु परेको बिहीबार पत्रकार सम्मेलनमार्फत बताएका छन्।

‘पुँजी बजार सुधार, विस्तार र आम लगानीकर्ताको लगानी सुरक्षाको माग राख्दै हामी अनशन बसेका हौं। अनशनको ११औं दिन र आमरण अनसनको चौथो दिन भइसक्दासमेत सरकारले हाम्रा मागलाई सम्बोधन नगरी हदैसम्मको गैरजिम्मेवारीपन देखाएको छ। सरकारले हामीले अघि सारेका १४ बँुदे मागलाई बेवास्ता गरी उल्टै शेयरको मूल्य घटाउन अनसन बसेको, नेता बन्न अनशन बसेको, कांग्रेस, राप्रपा र राजपाका कार्यकर्ता अनशन बसेको जस्ता अनर्गल प्रचार भएका कारण अनशन तोड्न परेको हो।’ विज्ञप्तीमा भनिएको छ।