भन्सारमा पैदल हिँड्ने निर्णयबाट पछि हट्यो भन्सार कार्यालय

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज

वीरगन्ज भन्सार कार्यालयले बुधबारदेखि लागू हुने गरी लगाएको नियम संघीय समाजवादी फोरमका कार्यकर्ताको विरोधपछि हटाएको छ। वीरगन्ज भन्सार कार्यालयले बुधबारदेखि लागू हुने गरी भन्सार गेटबाट आवतजावत गर्ने सवारी सधानलाई रोकेर पैदल हिँड्नुपर्ने नियम लागू गरेको थियो।

त्यसको केहीछिनमै संघीय समाजवादी फोरम वीरगन्ज महानगर समितिको नेतृत्वमा गएका फोरमका कार्यकर्ताले भन्सार गेटमा विरोध प्रदर्शन गर्दै नाराबाजी गरेपछि वीरगन्ज भन्सार कार्यालयले नियम फेरि हटाएको हो।

एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएपछि अधिकांश मालसामान आईसीपी हुँदै आउने र वीरगन्ज भन्सार कार्यालयको मुख्य गेटबाट आउने सवारी साधनले सामान लुकाएर ल्याउने गरेपछि त्यसलाई निरुत्साहित गर्न अन्तर्राष्ट्रिय भन्सार नियम अनुसार पैदल यात्रुको लागि पनि व्यवस्था गरेर सवारीसाधन चेकजाँचको लागि बुधबारदेखि यात्रुलाई ओरालेर चेकजाँचको व्यवस्था गरेको थियो।

संघीय समाजवादी फोरम महानगर समितिले जनतालाई सास्ती दिने गरी बनाइएको नियम खारेज गर्न माग गर्दै भन्सार गेटमै धर्ना दिएर विरोध प्रदर्शन गरी सडक अवरोध गरेका थिए। फोरमका कार्यकर्ताहरुले विरोध गरेर भन्सार गेट अवरोध गर्न थालेपछि प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीसँग भएको छलफलमा नियम लागू नगर्ने मौखिक सहमति भएको छ।

भन्सार कार्यालयले बुधबारदेखि नै लागू हुने गरी सार्वजनिक सूचना टाँस गरेको केही घण्टामै त्यसको विरोध भएपछि नियम हटेको हो।
फोरमका कार्यकर्ताले भन्सार चोकजाँचको बहानामा यात्रुलाई ओरालेर पैदल हिडाइ चेकजाँच गर्नु तानाशाही प्रवृत्तिको संज्ञा दिएका छन्। उनीहरुले गणतन्त्र आइसके पनि वीरगन्ज भन्सार कार्यालयले भने सर्वसाधारण यात्रुलाई दुःख दिने गरी लगाएको नियमले शाही शासनकालको झझल्को दिएको भन्दै विरोध गरेका हुन्। उनीहरुले स्थानीय सरकार र जनप्रतिनिधिहरुसँग पनि कुनै समन्वय नगरी नियम लागू गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका थिए।

भन्सार प्रमुख भण्डारीले सर्वसाधारणलाई दुःख दिने कुनै नियत नभएको र भन्सार नाकामा हुने चोरी, तस्करी तथा अवैध कारोबारलाई नियन्त्रण गर्नका लागि नियम लागू गरिएको बताउनुभयो। उहाँले यात्रुहरुले पनि सहयोग र साथ होस् भनेर पैदल लाइनको व्यवस्था गरी भन्सार चेकजाँच गर्ने व्यवस्था मिलाउँदा विरोध हुनु दुखद् भएको गुनासो गर्नुभयो।