खोटाङ, (नेस)
फोक्सिङ्टारस्थित सुनकोसी नदीको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङ र तराईको सीधा यातायात सुचारु भएको छ। खोटाङ र उदयपुरको सिमानामा पर्ने फोक्सिङ्टारमा गत मङ्सिर १७ देखि पुनः जडानको काम थालिएको बेलिब्रिज बुधबारबाट सञ्चालनमा ल्याइएपछि खोटाङ र तराई जोडिने छोटो मार्ग सुचारु भएकोे हो।
फोक्सिङ्टारमा बेलिब्रिज सञ्चालन भएपछि दिक्तेल–गाईघाट, दिक्तेल–धरान, दिक्तेल–विराटनगर, दिक्तेल–काँकडभिट्टालगायतका ठाउँहरू आवत–जावत गर्ने सबैभन्दा छोटो मार्गमा यातायात शुरू गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जनाउनुभयो।
हरेक वर्षायाममा कोसीमा आउने बाढीबाट बचाउन फोक्सिङ्टारमा जडान गरिने बेलिब्रिज वैशाख–जेठमा खोेल्ने गरिएको छ। उक्त स्थानमा हिउँद लागेपछि कात्तिक÷मङ्सिरमा पुनः जडान गरेर यातायात सञ्चालन गर्ने गरिएको छ। फोक्सिङ्टारको करिब ५० मिटर लामो दूरीमा सडक विभागको ८१ लाख रुपियाँ लागतमा सगरमाथा कन्स्ट्रक्सन प्रालि गाईघाटले अस्थायी बेलिब्रिज जडान गरेको हो।
सगरमाथा लोकमार्गमा पर्ने सुनकोसीस्थित फोक्सिङ्टारमा विगतका वर्षको तुलनामा केही ढिला जडान गरेर बेलिब्रिज सञ्चालनमा ल्याइएको कन्स्ट्रक्सनका सञ्चालक प्रेमराज कार्कीले बताउनुभयो। गत वर्ष कात्तिकमै बेलिब्रिज पुनः जडान गरेर यातायात सञ्चालनमा ल्याइएको थियो।
फोक्सिङ्टारमा दश वर्षअघि नै पक्की पुल बनाउने योजना भए पनि सम्बन्धित ठेकेदारले काम नगर्दा अहिलेसम्म निर्माण भएको छैन। अस्थायीरूपमा सञ्चालन गरिने बेलिब्रिज जडान गर्दा र खोल्दा वर्षेनी डेढदेखि दुई करोडको हाराहारी राज्यकोषको रकम खर्च हुने गरेको छ।
उदयपुरको गाईघाटदेखि दिक्तेलसम्मको उक्त सगरमाथा लोकमार्ग तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५३ सालमा शिलान्यास गर्नुभएको थियो। १ सय ३९ किलोमिटर दूरीको उक्त लोकमार्ग २५ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। फोक्सिङ्टारदेखि दिक्तेलसम्मको ७६ किलोमिटर दूरीको सडकमा भने ग्राबेल र स्तरोन्नतिको काम भइरहेको छ।











प्रतिक्रिया