संदिग्ध ड्रोनका कारण गेटविक विमानस्थल बन्द, हजारौं यात्रु अलपत्र


लन्डन, (एजेन्सी)
संयुक्त अधिराज्यको सबैभन्दा व्यस्त विमानस्थलहरुमध्ये एकमा ड्रोन आक्रमण हुँदा हजारौं यात्रुको हवाई उडान अवरुद्ध भएको छ। विमानस्थलको वरपरका पर्खालमाथि दुईवटा विद्युतीय उपकरण उडिरहेको पाइएपछि बुधबार रातिदेखि गेटविक विमानस्थलको धावनमार्ग बन्द गरिएको सरकारी सूत्रले जनाएको छ।

यस विमानस्थलले बिहीबार त्यहाँबाट १ लाख १० हजार यात्रुले ७ सय ६० वटा उडान प्रयोग गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको जनाएको छ। स्थानीय समयअनुसार बेलुका करिब सात बजे अर्को ड्रोन देखा परे यता प्रहरीले ड्रोन उडाउने व्यक्तिको अझै खोजी गरिरहेको छ।

यात्रा गर्न लागेकालाई आफ्ना उडानको विवरण चेक गर्न अनुरोध गरिएको छ। तर इजिजेटले यदि आफ्ना उडानहरु रद्द गरिएको भए यात्रुहरुलाई गेटविकमा नजान भनेको छ। सस्सेक्स प्रहरीले यो घटना आतंकवादसंग सम्बन्धित नरहेको तर नियतवश विमानस्थलमा अवरोध यसको उद्देश्य देखिएको जनाएको छ।

उक्त धावनमार्ग बिहान ३ बजेर १ मिनेट जाँदा केहीबेर पुनः खुल्ला गरिएको थियो तर पुनः ड्रोनहरु देखिएपछि करिब ४५ मिनेटपछि धावनमार्ग बन्द गरिएको थियो। गोली यताबाट छल्न सक्ने खतराका कारण प्रहरीले ती ड्रोनलाई गोली हानेर नखसालेको बताइएको छ।

बुधबार राति मात्र करिब १० हजार यात्रुको उडान अवरुद्ध भएको थियो। गेटविकमा अवतरण हुन लागेका विमानहरुलाई डाइभर्ट गरी लन्डन हिथ«ो, ल्युटन , बर्मिंघम , म्यानचेस्टर , कार्डिफ ग्लास्गो, पेरिस र एम्सटर्डम विमानस्थलतर्फ पठाइएको थियो। ठूलो संख्यामा यात्रुले नयाँ सूचनाको प्रतिक्षामा गेटविकको टर्मिनलमा र अन्यले ग्राउन्डेड गरिएका विमानमा रात कटाएका थिए।।