प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै

0
Shares

प्रताप बानियाँ, म्याग्दी
प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षण बढ्दै जान थालेको छ। सामान्य शिक्षा अध्ययन गरेर स्वदेशमा रोजगारको खासै अवसर नपाइने भएपछि पछिल्लो समय प्राविधिक धारतर्फको शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीको आकर्षण बढेको हो।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा विगत केही वर्षयता विद्यार्थीको आकर्षण बढ्दै गएको छ। किसानी माध्यमिक विद्यालय परिसरमा सञ्चालित प्राविधिक शिक्षालयमा म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थी अध्ययन गर्न आएको किसानी प्राविधिक शिक्षालयले जनाएको छ।

हाल उक्त प्राविधिक शिक्षालयमा नेपालका १८ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको किसानी प्राविधिक शिक्षालयका प्रशिक्षक यनबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार सो प्राविधिक शिक्षालयमा म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङ, कास्की, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, अछाम, कैलाली, प्युठान, गुल्मी जिल्लाबाट विद्यार्थी शिक्षा लिन आएका छन्। देशको पूर्वभन्दा पनि पश्चिम क्षेत्र हालको प्रदेश नम्बर ५ र ६ अन्तर्गत रहेका जिल्लाबाट अधिकांश विद्यार्थी आउने गरेको उनले बताए।

विममा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा कृषिअन्तर्गत ३ वर्षे बाली विज्ञान, ३ वर्षे पशु विज्ञान, १८ महिने जेटीएसम्बन्धी विषयमा अध्ययन अध्यापन हुने गरेको प्रशिक्षक क्षेत्रीको भनाइ छ। २०६८ सालमा सीटीईभीटीअन्तर्गत स्थापना भएको प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीहरूको बीचमा प्रतिस्पर्धाको माध्यमबाट भर्ना लिने गरिएको छ। प्राविधिक शिक्षा आजको आवश्यकता भनेजस्तै प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीमा उत्साह रहेको प्रशिक्षक क्षेत्रीले बताएका छन्। प्राविधिक शिक्षामा स्थानीयदेखि बाहिरी जिल्लाका विद्यार्थीले चासो दिएका छन्। अहिले उक्त शिक्षालयमा मात्रै विभिन्न विषयका ९ जना प्रशिक्षक तथा कर्मचारी कार्यरत छन्।

पछिल्लो समय प्राविधिक शिक्षा अध्ययनका लागि जेटीएतर्फ ४० र ओजीटीमा २७ जना विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्। विममा प्राविधिक शिक्षालय स्थापना र सञ्चालनका लागि समुदाय तथा किसानी माविले ठूलो प्रयास गरेको थियो। प्राविधिक शिक्षालयमा दक्ष जनशक्ति तथा स्रोतसाधनको व्यवस्थापन, विद्यार्थीको आकर्षण बढाउन विभिन्न कार्यक्रम सञ्चालन, भौतिक पूर्वाधार विकासको अभाव रहेको किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले बताए। उनले शिक्षालयको तर्फबाट सम्बन्धित निकायमा पटक–पटक पहल र ध्यानाकर्षण गरिए पनि आवश्यकताअनुसारको सहयोग उपलब्ध हुन नसकेको गुनासो गरेका छन्।

यता मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले प्राविधिक शिक्षालय सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सहयोग गरिने बताइन्। विमको साथै म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वर मावि तोरीपानीमा प्राविधिक धारतर्फ इन्जिनियरिङ कक्षा सञ्चालन गरिएको छ भने सदरमुकाम बेनीस्थित प्रकाश माविमा विज्ञान विषयको पढाइ हुँदै आएको छ। अन्य शिक्षा पढेर स्वदेशमा खासै रोजगारको अवसर नपाइने हुँदा आफूहरूले प्राविधिक शिक्षा अध्ययन गरेको विद्यार्थीहरू बताउँछन्। जिल्लामा सञ्चालित प्राविधिक शिक्षाको विकासका लागि सम्बन्धित क्षेत्रले विशेष ध्यान दिनुपर्छ।