रोशन पराजुली, हेटौंडा
बाह्रै महिना तरकारी उत्पादन गर्न वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनुपर्दछ। यसका लागि प्लास्टिक घर एक मुख्य प्रविधिको रूपमा रहेको छ। प्लास्टिकको घरभित्र वर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिन्छ।
यही तथ्यलाई विचार गरी मकवानपुरमा कृषकले प्लास्टिक टनेलमा उच्च मूल्ययुक्त तरकारी उत्पादन गरी आम्दानी लिन थालेका छन्। जिल्लामा पछिल्लो समय आधुनिक पद्धतिबाट तरकारी खेती गर्ने क्रम बढेको हो। व्यावसायिकरूपमा तरकारी खेती गर्न किसान आकर्षित भएपछि नयाँ पद्धति प्रयोग बढेको छ।
जिल्लाका विभिन्न स्थानमा कृषि सहकारी संस्थामार्फत र कृषि फार्म सञ्चालन गर्दै आएका कृषकले चालू आर्थिक वर्षबाट तरकारी उत्पादन गरी आम्दानी लिन थालेका हुन्। सरकारले गत आर्थिक वर्षमा प्रिसिजन तथा प्रोटेक्टेड हर्टिकल्चर प्रविधि विस्तार कार्यक्रमअन्तर्गत २ कृषि सहकारी संस्था र १९ वटा कृषि फार्म गरी २१ संस्थालाई प्लास्टिक टनेल निर्माण गर्न करिब डेढ करोड रूपियाँ अनुदान प्रदान गरेको थियो।
मकवानपुरगढी गाउँपालिकामा ५ वटा टनेलमा कृषकले तरकारी खेती गर्दै आएको जानकारी दिँदै गढी गाउँपालिका कृषि विकास संयोजक चन्द्रकान्त चौधरीले केही कृषकले टनेलमा गोलभेंडा उत्पादन गरी आम्दानी लिएको बताउनुभयो।
बेमौसमी खेती गर्न मिल्ने, रोग र कीराको संक्रमण हुने नभएकाले यसरी खेती गर्न थालिएको उहाँले बताउनुभयो। कृषकले प्रतिकेजी ८० रूपियाँसम्ममा गोलभेंडा बिक्री गरेका छन्। गोलभेंडासँगै मकवानपुरगढी गाउँपालिकामा अनुदान पाएका कृषकले काँक्रो, लहरे तरकारीलगायत खेती गरेका छन्।
हेटौंडा–१४ स्थित मयुरधापमा सानु एग्रिकल्चर फार्म सञ्चालन गर्दै आउनुभएका सानु मोक्तानले थोपा सिँचाइसहित एग्री नेट हाउस निर्माण गरिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘व्यावसायिकरूपमा खेती गर्ने हो भने त टनेल चाहिँदो रहेछ।’ राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले प्लास्टिक टनेल र एग्री नेट हाउस निर्माण गर्न अनुदान प्रदान गरेको हो। मोक्तानले बिचौलियाका कारण उचित मूल्य पाउने नगरेको गुनासो गर्नुभयो।
कैलाश गाउँपालिका–१० मा स्थानीय जीवन मुक्तान र सानुकान्छा ब्लोनले १५÷१५ सय वर्गमिटर क्षेत्रफलको दुईवटा थोपा सिँचाइ प्लास्टिक टनेल निर्माण गरी तरकारी लगाउने तयारी थाल्नुभएको छ।
यहाँका टनेलभित्र गोलभेंडा, खुर्सानी, घिरौंला, बोडी, गाँजरलगायत मौसमी तथा बेमौसमी तरकारी लगाइएका छन्। लहरेबालीका लागि स्थायी प्रकृतिको बनाइएको टनेलभित्र प्रत्येक बिरूवाको जरामा थोपा प्रविधिबाट सिँचाइ गर्ने व्यवस्था मिलाइएको छ।
उक्त तरकारी खेतीमा गाईभैंसीको गहँत संकलन गरेर विषादीको रूपमा प्रयोग गर्ने गरिएको छ। खुला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उहाँको भनाइ छ।
आधुनिक प्रविधि प्रयोग गर्दा थोरै लगानी र मेहनतमा बढी आम्दानी लिन सकिने भएपछि उनीहरू आधुनिक प्रविधि प्रयोगमा आकर्षित भएका हुन्। प्राविधिकका अनुसार जाडोयाममा तापक्रम व्यवस्थापन गरिदिएर बढी आम्दानी हुने गरी बेमौसमी तरकारी फलाउन टनेलले किसानलाई सघाउने गरेको छ।
सामूहिक खेती गर्ने किसानले ठूला टनेल बनाउने गरेका छन्। टनेलको उपयोगिता बुझेपछि कृषकले अभियानकै रूपमा टनेल निर्माण गर्ने क्रम पनि बढिरहेको पाइएको छ। टनेल देखासिकीका रूपमा पनि बनिरहेका छन्।











प्रतिक्रिया