चिरञ्जीवी मास्के, दोलखा
दोलखाको राजकुलेश्वर आधारभूत विद्यालयले व्यावहारिक एवं सीपमूलक शिक्षा दिन ‘गुणात्मक शिक्षाका लागि व्यक्तिगत, विद्यार्थी सक्रियता तथा व्यावसायिक सीप समायोजन परियोजना’ सञ्चालन गरेको छ।
बालबालिकालाई अध्ययनशील, सृजनशील, रचनाशील, विवेकशील र असल आचरणयुक्त बनाउन विद्यालय समयभन्दा अघि वा पछि क्षमता विकास, सीप विकास तथा चरित्र निर्माण हुने गतिविधि सञ्चालन गर्ने लक्ष्यका साथ ‘गुणात्मक शिक्षाका लागि व्यक्तिगत, विद्यार्थी सक्रियता तथा व्यावसायिक सीप समायोजन परियोजना’ सञ्चालन गरिएको राजकुलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश दाहालले बताए।
दोलखा भीमेश्वर नगरपालिका–२ दोलखामा २०१९ सालमा स्थापना भई सञ्चालनमा रहेको विद्यालयले परियोजनाअन्तर्गत सूचना प्रविधि, विज्ञान र गणित विषय सहजीकरण, स्वास्थ्य, सरसफाइ र खेलकुद, भाषा र साहित्य, जीवनोपयोगी शिक्षा, संगीत र कला, अभिभावक शिक्षा तथा सांस्कृतिक संरक्षण र सीप विकास कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक दाहालको भनाइ छ।
विद्यालयले सञ्चालन गरेको सूचना प्रविधि कार्यक्रमअन्तर्गत मोबाइल, रेडियो, फोटोकपि मेसिन, कम्प्युटर तथा हाउस वाइरिङ तालिम, विज्ञान र गणित विषय सहजीकरण कार्यक्रमअन्तर्गत विज्ञान तथा गणित कार्यशाला सञ्चालन, स्वास्थ्य, सरसफाइ र खेलकुद कार्यक्रमअन्तर्गत भलिबल, टेबलटेनिस तालिम तथा प्रतियोगिता सञ्चालन र प्राणायम तथा योग अभ्यास, भाषा र साहित्य कार्यक्रमअन्तर्गत अंग्रेजी तथा नेपाली भाषामा वक्तृत्व कला प्रतियोगिता र साहित्य लेखन, जीवनोपयोगी शिक्षा कार्यक्रमअन्तर्गत विभिन्न व्यावसायिक सीपसम्बन्धी तालिम, संगीत र कलाअन्तर्गत गायन तथा नृत्य प्रतियोगिता एवं प्रशिक्षण सञ्चालन र अभिभावक शिक्षा कार्यक्रमअन्तर्गत अभिभावक शिक्षा र अभिभावकलाई विद्यालयको भ्रमण तथा सांस्कृतिक संरक्षण र सीप विकास कार्यक्रमअन्तर्गत सीप विकास तालिम, प्रदर्शनी, सांस्कृतिक पर्व विशेषमा बालबालिकाको सहभागितालगायत सञ्चालन गर्दै आएको छ।
‘गुणात्मक शिक्षाका लागि व्यक्तिगत, विद्यार्थी सक्रियता तथा व्यावसायिक सीप समायोजन परियोजना’ अन्तर्गतका कार्यक्रम विद्यालय समयभन्दा पछि अतिरिक्त समयमा सञ्चालन गरिँदै आएको र कार्यक्रममा कक्षा ४ देखि ८ कक्षाका ७० जना विद्यार्थीको सहभागिता रहेको प्रधानाध्यापक दाहालले बताए।
परियोजना सञ्चालनका लागि प्रशिक्षक र मसलन्दका लागि मासिक ३० हजार खर्च लाग्ने विद्यालयले जनाएको छ। परियोजना सञ्चालनका लागि समाजसेवी एवं दोलखाका स्थानीय आत्मकृष्ण श्रेष्ठले एकमुष्ठ १ लाख ९० हजार रुपियाँ उपलब्ध गराएको प्रधानाध्यापक दाहालले बताए। परियोजना सञ्चालनका लागि थप सहयोग आवश्यक रहेको र त्यसका लागि दाताको खोजी भइरहेको प्रधानाध्यापक दाहालको भनाइ छ।
विशेष गरी नेवार, थामी र तामाङ जातिका बालबालिका अध्ययन गर्दै आएको राजकुलेश्वर आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ। कक्षा १ देखि ५ र बाल कक्षाका विद्यार्थीलाई सरकारले नै दिवा खाजाका लागि आर्थिक सहयोग गर्ने र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापन गर्न विद्यालयले विभिन्न व्यक्ति एवं संस्थासँग सहयोग जुटाइरहेको विद्यालयले जनाएको छ। दिवा खाजा कार्यक्रमका लागि समेत समाजसेवी आत्मकृष्ण श्रेष्ठले वार्षिक ९० हजार आर्थिक सहयोग उपलब्ध गराउँदै आएको प्रधानाध्यापक दाहालले बताए।











प्रतिक्रिया