नेपाल समाचारपत्र, मुगु
सोरू गाउँपालिका–८ कच्चे गाउँ मुगु जिल्लाको पहिलो मानव अधिकारमैत्री गाउँ घोषणा भएको छ। एक्सन वर्क नेपाल तथा किडार्क नेपालको सहयोग तथा सोरू गाउँपालिकाको आयोजनामा सोरू गाउँपालिका–८ कच्चे गाउँलाई पहिलो मानव अधिकारमैत्री गाउँ घोषणा गरिएको हो। मानव अधिकारका विभिन्न २० वटा सूचक पूरा गरेको जनाउँदै कच्चे गाउँलाई मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मानव अधिकारमैत्री गाउँ घोषणा गरिएको छ।
‘घर–घरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने नाराका साथ संघीय संरचनापछि कच्चे गाउँ मुगु जिल्लाका चार स्थानीय तह र ४५ वडामध्ये पहिलो मानव अधिकारमैत्री गाउँ बन्न सफल भएको छ। ६४ घरधुरी रहेको कच्चे गाउँमा बालविवाहमुक्त, बालश्रममुक्त, खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त छ। अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, विद्यालय शान्ति क्षेत्र, साक्षर, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त, स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि पाएको, सबै घरमा करेसाबारी, धूवाँरहित चुलोलगायतले मानव अधिकारमैत्री घोषणा गरिएको सोरू गाउँपालिका–८ का वडाध्यक्ष जनकबहादुर रावलले बताए।
सबै खालको विभेद अन्त्य भएको र मुगु जिल्लाको एक नमुना गाउँका रूपमा विकास गरेकाले कच्चेबासीको यो उदाहरणीय सिकाइ अन्य गाउँ तथा नगरले सिक्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताए। समाजमा छुवाछूत, अन्तरजातीय विवाह गर्दा समाजमा छि छि र दुरदुर गरेको सुनाउँदै पुरातन चेतनाबाट समाज माथि उठ्न सकेमात्र यसको सार्थकता हुने बताए।











प्रतिक्रिया