दोहोरो नागरिकता लिने तीन जनालाई कैद

0
Shares

सरोज यादव, विराटनगर
जिल्ला अदालत मोरङले दोहोरो नागरिकता लिने ३ जना भारतीय नागरिकलाई कैद र जरिवाना सजायको फैसला गरेको छ।
एक परिवारका ३ भारतीय नागरिकले नेपाली नागरिकता लिएको प्रमाणित भएपछि अदालतले कैद र जरिवानको फैसला गरेको हो। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले सीमावर्ती क्षेत्र जोगवनी नगर पञ्चायत–१० का सन्तोषकुमार साह, उनका भाइ नरेस र बुहारी रिंकीदेवी साहलाई २–२ वर्ष कैद र ७५–७५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको हो।

फैसला सुनाइएका मध्ये सन्तोषबाहेक अन्य फरार छन्। सन्तोष र नरेस भारतीय नागरिक गजेन्द्र साहका छोरा हुन् भने रिंकीदेवी नरेसकी श्रीमती हुन्। उनीहरूले झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएको ठहर अदालतले गरेको हो। भारतीय नागरिकता हुँदाहुँदै विराटनगर महानगरपालिका–१६ स्थायी ठेगाना देखाएर नेपाली नागरिकता लिएका थिए। कैद सजाय सुनाइएका मध्ये प्रहरीले सन्तोषलाई गत चैत २ गते पक्राउ गरेको थियो। सन्तोषको साथबाट प्रहरीले भारतीय नागरिक रहेको प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकताको प्रमाणपत्र एवं मतदाता परिचयपत्र फेला परेको थियो।

अनुसन्धानका क्रममा सन्तोषका भाइ र बुहारीले पनि नेपाली नागरिकता लिएको खुलेपछि गत चैत २६ गते जिल्ला सरकारी वकिल कार्यालय मोरङले मुद्दा दायर गरेको थियो। सन्तोष र नरेसले २०६४ साल जेठ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट जन्मको आधारमा ९१ र ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। सन्तोषले सन् २००३ जनवरी २ तारिकमा भारत अररियाको फारवेसगञ्ज इन्द्रनगर–४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र प्राप्त गरेका थिए।

सन्तोषका भाइ नरेसले ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचयपत्र लिएका थिए। रिंकीदेवीले सन् २०१० जुन १५ तारिकमा जारी भएको भारतीय नागरिक प्रमाणित हुने परिचय लिएकी थिइन्। रिंकीदेवीको नेपाली मतदाता परिचयपत्र पनि छ। सन्तोषका कान्छा भाइ धीरेन्द्र र आमा पार्वतीदेवीको नेपाली नागरिकता छ।