नगरपालिकाले छाउन थाल्यो गरिब र असहायको घर

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङको बेंसीशहर नगरपालिकाले नगरभित्रका गरिब र असहायको घर छाउने अभियान थालेको छ। खरले छाएका घरका छाना हटाएर जस्तापाताले छाउने कार्य थालनी गर्दै सो अभियान थालेको हो।

नगरपालिकाले विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत खरले छाएको घरलाई जस्तापाताले छाना छाउन शुरू गरेको बेंसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले खरले छाएको घरको तथ्यांक संकलन गरिसकेपछि त्यस्ता घरलाई जस्तापाताले छाउन थालिएको हो। सो अभियान बेंसीशहर नगरपलिका–६ स्थित सारिङबाट गरिएको छ।

अभियानको पहिलो दिन सारिङ फाँटका लीलाबहादुर घर्तीको घरमै पुगेर मेयर अर्यालले निलो जस्तापाता हस्तान्तरण गर्नुभयो। यसअघि घर्तीको घर ढुंगा, माटो र खरले बनाइएको थियो। उहाँको २ तले घरलाई छाउन १० फुटे साढे २ बन्डल जस्तापाता दिइएको मेयर अर्यालले बताउनुभयो। उहाँका अनुसार किलाकाँटी र अन्य व्यवस्थापनका लागि १० हजार रुपियाँ प्रदान गरिएको छ।

घर्तीले स्थानीय सरकार आएपछि मेरो वर्षौंदेखिको सपना पूरा भएको बताउनुभयो। उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण आफूले घरको छानामा जस्तापाता छाउन सक्नुभएको थिएन। घर्तीले जस्तापाता पाएकै दिन छाना फेर्न थाल्नुभएको बताउनुभएको छ। वडा नम्बर ६ का वडाध्यक्ष भोजबहादुर रिमालले घर छाउन आर्थिक अभाव भएका नागरिका लागि यसले ठूलो सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार वडा नम्बर ६ मा मात्रै १८ वटा खरले छाएका घर छन्। घर्तीका श्रीमती र एक छोरा छन्।
नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा सो अभियानका लागि २१ लाख रुपियाँ बजेट विनियोजन गरिएको मेयर अर्यालले बताउनुभयो। उहाँका अनुसार आगामी आर्थिक वर्षसम्म नगरपालिकाभित्रका बसाइ सरेर जानेको घर र धन्सार खरले छाएका हुनेलाई यस्तो सुविधा नदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘नगरभित्रका गरिब, विपन्न तथा असहायलाई माथि उठाउने स्थानीय सरकारको कर्तव्य हो। नगरपालिकाले उनीहरूलाई बस्ने बासको राम्रो व्यवस्था गर्नेछ। सबै खरले छाएका घर अब जस्तापाताले छाएको देख्नेछौं।’

नगरपालिकामा संकलन भएको तथ्यांकअनुसार खरको छाना भएका वडा नम्बर १ मा १५ घर, वडा नं २, ३ र ५ मा ७÷७ घर, ४ मा ६ घर, ६ मा १८ घर, ९ मा ४ घर, १० मा ३२ घर र ११ मा २० घर रहेको प्रेस सल्लाहकार कृष्ण केसीले बताउनुभयो। उहाँका अनुसार वडा नम्बर ७ र ८ मा त्यस्ता घर भेटिएका छैनन्। नगरपालिकाभित्र करिब डेढ सय घर खरले छाएको रहेको अनुमान परामर्शदाता दूधप्रसाद घलेले बताउनुभयो।