क्रिसमस डेमा सार्वजनिक बिदा दिन माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय ख्रिस्टियन महासंघले क्रिसमस दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ।
डिसेम्बर २५ मा येशु ख्रिस्टको जन्म भएको अवसरमा हरेक वर्ष यो दिनलाई क्रिसमस दिवसका रुपमा मनाइँदै आइएको छ। पुस १० गते मंगलबार क्रिसमस दिवस पर्दछ। महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ख्रिस्टियन समुदायको भावनाको सम्मानका लागि सार्वजनिक बिदा दिनुको विकल्प नरहेको महासंघ अध्यक्ष सीबी गहतराजले बताउनुभयो।

‘बिदा नदिने हो भने हाम्रो भावनामाथि ठूलो चोट पुग्नेछ। सरकारले हामीलाई विभेद गर्नुहुँदैन’, गहतराजले भन्नुभयो– ‘२०६४ सालदेखि क्रिसमस दिवसमा बिदा दिँदै आइएको थियो तर २०७२ सालबाट कटौती गरिएको छ, यसमा आपत्ति छ।’

महासंघले देशभर ३० लाखभन्दा बढी क्रिश्चियन र १२ हजारभन्दा बढी चर्च तथा मण्डली रहेको जनाएको छ।
महासंघले सरकारले यसअघि आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। मृत्युपछि गरिने दाहसंस्कारका लागि समेत छुट्टै स्थान छुट्याइनुपर्ने महासंघको माग छ।

यसअघि पशुपतिको बनकालीमा समाधीस्थल छुट्याइए पनि पछिल्लो समयमा यो व्यवस्था पनि हटाइदिएपछि उनीहरू समस्यामा परेका हुन्।