नेपाल समाचारपत्र, काठमाडौं
केन्द्रीय सदस्यहरू गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङ, कमला पन्त, रामकृष्ण यादव, गुरुराज घिमिरेलगायत एक दर्जन केन्द्रीय सदस्यले शीघ्र महाधिवेशनको माग गर्दै महासमिति बैठकमा लिखित धारणा राखेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएर अघि बढ्न सभापति शेरबहादुर देउवालाई दबाब दिनुभएको छ।
महासमिति बैठकलगत्तै संशोधित विधानले व्यवस्थित गरेका पार्टी संरचनाहरू टोल, वडा, गाउँ, नगर तहदेखि केन्द्रीय महाधिवेशनको कार्यतालिका अहिले नै निर्माण गरेर अगाडि बढ्नुपर्ने वरिष्ठ नेता पौडेलको प्रस्ताव छ।
कांग्रेसलाई गतिशील बनाउन वरिष्ठ नेता पौडेलले ल्याउनुभएको कार्यतालिकामा २०७६ माघ मसान्तसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने उल्लेख छ भने २०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख छ।
उहाँले प्रस्तुत गर्नुभएको कार्यतालिकामा २०७६ मंसिर मसान्तसम्म टोल, मतदान केन्द्र, वडा, गाउँपालिका, नगर, उपमहानगर, महानगरपालिकाको अधिवेशन सम्पन्न गर्नुपर्नेछ।
पौडेलले यही पुस दोस्रो सातादेखि राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ चलाउनुका साथै आउँदो असोज मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण सँगसँगै प्रशिक्षण कार्यक्रम पनि गर्ने गरी महासमिति बैठक टुंगिनुपर्ने प्रस्ताव सभापति शेरबहादुर देउवालाई बुझाउनुभएको छ।
पौडेलको कार्ययोजनामा २०७६ फागुन ७ गते महाधिवेशनको उद्घाटन गर्ने र २०७६ चैत्र बाट २०७७ असोज मसान्तसम्म नवनिर्वाचित सबै तहका समितिको वैचारिक तथा संगठनात्मक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्ने र देशव्यापी प्रशिक्षण कार्यक्रम चलाउने भन्ने छ।
त्यसपछि जनसरोकारका कार्यक्रमहरू अभियानका रुपमा सञ्चालन गरी २०७८ वैशाखबाट भने निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने गरी महासमिति बैठक सम्पन्न गर्न वरिष्ठ नेता पौडेलको सुझाव छ।
नेपाली कांग्रेस अहिले इतिहासकै कठिन मोडमा रहेको भन्दै वरिष्ठ नेता पौडेलले गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी, उर्लिंदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको ऊर्जाको जगमा नेपाली कांग्रेसले आफ्नो भावी मार्ग तय गर्न अब ढिला गर्नुहँुदैन भन्नुभयो।
सभापति शेरबहादुर देउवालाई आफ्नो प्रस्ताव बुझाउँदै वरिष्ठ नेता पौडेलले भन्नुभएको छ– ‘महासमितिको बैठकपश्चात बिलम्ब नगरिकनै पार्टी संगठनलाई सुदृढ र गतिशील बनाउने अभियान सञ्चालन गर्नुपर्दछ।
यस अभियानका क्रममा सदस्यता वितरण र प्रशिक्षण अभियानलाई सँगसँगै लैजानुपर्दछ। पदयात्रा कार्यक्रम सर्वत्र सञ्चालन गर्नुपर्छ।’
साथै उहाँले कम्युनिस्ट सत्ताका मनपरितन्त्रको विरोध गर्नुपर्ने, कांग्रेसका सदस्यलाई वैचारिक र सांगठनिक प्रशिक्षण दिनुपर्ने र कम्युनिस्टहरूले भन्दै आएको समाजवाद र प्रजातान्त्रिक समाजवाद कुन सही र श्रेष्ठ हो रु भन्ने विषयमा बहस सर्वत्र चलाउनुपर्ने पनि बताउनुभएको छ।











प्रतिक्रिया