गंगा बराल, काठमाडौं
संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद र सर्वसाधारणलाई बेग्लै क्यान्टिनको नयाँ व्यवस्था गर्न लागिएको छ। आगामी बुधबारबाट चल्ने संसद् बैठकपछि सांसद र अन्यले अलग–अलग ठाउँमा बसेर चियाखाजा खानुपर्ने व्यवस्था गर्न लागिएको हो।
संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम रिज्यालका अनुसार क्यान्टिनलाई व्यवस्थित गर्न छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको हो।
‘सांसदहरूले पटकपटक गुनासो गरेपछि नयाँ व्यवस्था गरिएको हो’, रिज्यालले भन्नुभयो– ‘क्यान्टिनलाई २ भागमा विभाजन गरिएको छ, पूर्वपट्टि सांसदहरूका लागि छुट्याइएको छ भने पश्चिमपट्टि अन्यलाई व्यवस्था गरिएको हो।’
रिज्यालले खुला रहेको क्यान्टिनलाई हावाहुरी र पानी आउँदा पनि सुरक्षित हुने गरी क्यान्टिनलाई व्यवस्थित गरिएको बताउनुभयो। आन्तरिक सेवा तथा योजना शाखाले गरेका यी कामबाहेक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले टायल बिछ्याउने र मिलाउने काम गरेको छ। सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको छ।
गत कात्तिक ४ गतेबाट अर्याल होटल इन्टरनेसनलले क्यान्टिन चलाउन थालेको छ। सिंहदरबार र संसद् भवनमा नै क्यान्टिन चलाएको उसले संसद् सचिवालयले क्यान्टिन व्यवस्थित गरिदिएको बताएको छ। संसद्भित्र प्रहरीले पनि सानो क्यान्टिन चलाएको छ। राष्ट्रियसभाको बैठक बस्ने भवनपछाडि पनि सुविधा सम्पन्न क्यान्टिन बनाउने सम्झौता भइसकेको सचिवालयले जनाएको छ।
क्यान्टिनले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र संसद् सचिवालयका महासचिवलाई चियाखाजा पु¥याउन निश्चित कर्मचारी तोकेको छ। सधैं एकैजनाले लाँदा सजिलो हुने भएकाले यो व्यवस्था गरिएको सञ्चालकले बताएका छन्।











प्रतिक्रिया