मस्कोलाई पछि पार्न रूसविरूद्धको जासुसी आरोप लगाइयोः ट्रम्प

0
Shares

रूस ।
पश्चिमा मुलुकहरूले मस्कोमाथि जासुसी प्रकरणको मुद्दा उठाएर रूसको अन्तर्राष्ट्रिय सम्बन्धमा फाटो पार्न खोजिएको रूसले दावी गरेको छ ।

“रूसको विकासमा समस्या ल्याउने विचारबाट उद्दत भएको जासुसी प्रकरण रूसमाथिको आक्रमणको अर्को नमूना हो,” राष्ट्रपति भ्लादिमिर पुटिनले बार्षिक कार्यक्रम अनुसार बिहीबार पत्रकार सम्मेलनमा बताउनुभयो ।

पुटिनले गुप्तचरको ‘दोहोरो भूमिका खेलेका’ पूर्व गुप्तचर अधिकारी सेर्गेइ स्क्रिपाल र उहाँकी छोरीलाई सालिसबरीमा बिष दिएको घटनामा बेलायतले रूसलाई दोषी देखाउन खोज्नु सरासर रूसमाथिको रणनीतिक आक्रमण भएको बताएका छन् ।

बेलायतले स्क्रिपाल द्वयलाई बिष दिने दुई शङ्कास्पद व्यक्ति रूसी सैनिक गुप्तचरका एजेन्ट भएको भन्दै रूससँगको कूटनीतिक सम्बन्धमा समस्या भएको जनाएको थियो । बदलामा कतिपय यूरोपेली मुलुकहरू, बेलायत र अमेरिकाले रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको थियो ।

उहाँले भन्नुभयो, “यदि स्क्रिपालहरू हुदैनथे भने अन्य केही सोचिने थियो होला । यहाँ एउटै लक्ष्य रूसको विकासलाई पछि पार्ने र सम्भावित प्रतिस्पर्धीका रूपमा उठ्न नदिने खेल खेल्नुमात्रै रहेको छ ।”

पुटिनले पत्रकार सम्मेलनमा रूसी मारिया बुटिनालाई अमेरिकामा गत हप्ता गैरकानूनी विदेशी एजेन्टको आरोपमा दोषी ठहर गरेको भनी अमेरिकाको आलोचना गर्नुभयो । बुटिनालाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको हस्तक्षेपमा सम्लग्नता रहेको बताइँदै आएको थियो ।

बन्दूक अधिकारका समर्थक बुटिनाले आफूमाथि लागेको आरोप गलत भएको भन्दै उक्त प्रकरणमा आफू दोषी नरहेको बताउनु भएको छ । उहाँमाथि अमेरिकी विदेशी नीतिलाई प्रभावित तुल्याउन खोजेको आरोपमा कम्तिमा छ महिना जेल र देश निकालाको सजाय भएको छ ।

पुटिनले भन्नुभयो, “मैले बुझेको छैन, सरकारको कुनै जिम्मेवारी नलिएकी उनले के गल्ती स्वीकार गर्नेछन् । उनले जे स्वीकार गरेपनि १०–१५ बर्षको जेल सजायको धम्कीका कारण आएको अभिव्यक्ति हो । ”

“मैले बुझ्न सकेको छैन किन उनीहरू ९अमेरिकी० उनलाई जेल सजाय दिन चाहेका छन् । त्यहाँ कुनै आधार छँदैछैनन् ।”

पश्चिमा मुलुकले रूसमाथि लगाएको प्रतिबन्ध रूसको अन्तराष्ट्रियस्तरमा बढेको प्रभावका कारण आवेगमा आएका निर्णय भएको पुटिनको दावी थियो । “यो रूसको शक्ति विकाससँग जोडिएको छ,”उहाँले थप्नुभयो, “एउटा शक्तिशाली खेलाडीलाई सबैले विश्वास गर्नैपर्छ । अहिलेसम्म रूस जति कमजोर सोचिन्छ त्यो भन्दा कैयौँ गुणा शक्तिशाली छ ।”

उहाँले रूसको अर्थतन्त्रमा ‘अनुकुलित’ छ त्यसैले कतिपय दृष्टिकोणबाट हेर्दा प्रतिबन्ध सकारात्मक छ । उहाँले भन्नुभयो, प्रतिबन्ध लगाएर रूसलाई सङ्कटमा पार्न गरेको पश्चिमा मुलुकको कुदिृष्टिका कारण रूसले आफ्नो कृषिलाई सुधार गर्न बाध्य भयो । यसले रूसको कृषिमा व्यापक विस्तार ल्याइदिएकोे छ । यो हाम्रो लागि सकारात्मक कुरा हो ।
रासस