सलिम अन्सारी, प्यूठान ।
बस्तीको शिरमा अग्लो डाँडो, डाडाँको काखमा प्राकृतिक रुपमै बनेको दह । त्यसो त ‘चारैतिर डाँडै डाँडा छन। घना सल्लेरी वनले घेरिएको प्राकृतिक दहको दृष्य हेर्दा मन खुसीले फुरुङ्ग हुने गर्छ । सरुमारानीको चुलीबाट बाह्रै महिना हिमशृङ्खला देखि तराई मधेश र भारतका समथर फाँट र प्राकृतिक भू–वनोट हेर्न सकिन्छ। फागुन चैतमा फुल्ने लालिगुराँसले सिंगारिने दृश्यहरुको सौन्दर्य बयान गर्नुभन्दा पुगेरै अनुभव गर्न मज्जा हुन्छ ।
सरुमारानी गाउँपालिका–६ कुटिचौर गाउँको शिरमा रहेको पर्यटकीय ‘किमिचौर दह’ मा पुग्दा त्यहाँको प्राकृतिक सौन्दर्यले सबैलाई लोभ्याउछ्न ।डाँडाको बिचमा रहेको दह रमणीय र आकर्षक भए पनि आन्तरिक पर्यटकको गन्तव्य बन्न सकेको छैन । प्रशस्त पर्यटकिय संभावना बोकेको तिरामको किमिचौर दह प्रचार–प्रचार र संरक्षण अभावले छायाँमा परेको छ । दहको आकर्षण अनुसार प्रचारप्रसार हुन नसकेको स्थानीयले बताए ।
‘यसको संरक्षणमा कसैको ध्यान पुगेन,’ लालबहादुर रोकाले भने, ‘गाउँको पर्यटकीय क्षेत्रमा ध्यान जावस।’ यो दहले गाउँको सुन्दरता मात्र नदिएर स्थानीयलाई आवश्यक पानीसमेत अपूर्ति गर्दै आएको स्थानिय टंक बहादुर उलुङेले बताए । उनका अनुसार दहको पानी स्थानीयले कपडा धुन, गाईभैंसीलाई खुवाउन प्रयोग गर्छन् ।

दहको राम्रोसँग संरक्षण नभएको वडाध्यक्ष तुलबहादुर रोका स्वीकार्छन् । ‘दह निकै सुन्दर छ,’ गाविस पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘राम्रोसँग संरक्षण गर्न प्रयास थालेका छौ ।’ केही वर्षअघि तत्कालीन जिविसले दिएको एक लाख रुपैयाँले केही पर्खाल लगाइएको थियो ।
स्थानीय तहको निर्वाचनपछि सरुमारानी गाउँपालिकाले दहको संरक्षण गर्ने योजना बनाएको रोकाले सुनाए । ‘धेरैपटक गाउँपालिका प्रमुखसहितको टोलीले यश भेगको अवलोकन गरिसक्नुभएको छ,’ उनले भने, ‘पर्यटन बिकासमा पालिकाले बृहत् योजना बनाएको छ’ दहमा बर्से्नि मघेसंक्रातिमा मेला लाग्ने गर्छ ।
यहाँ नुहाउन स्थानीयका साथै दाङको लोहारपानी, मुरकुटी क्षेत्रवासीसमेत आउने गर्छन् । दाङ भालुबाङ–प्यूठान सडकको बाङ्गेखोलाबाट दहसम्म मोटरबाटो निर्माण भएको छ । सडक पुगेपछि केही आन्तरिक पर्यटक अवलोकन गर्न आउन थालेको स्थानीय बताउँछन् । ‘पहिले सडक नभएकाले पनि दह ओझेलमा परेको हो,’ स्थानीय लक्ष्मी मगरले भनिन्, ‘सडकले गाउँ नै सुगम भएको छ ।
गाउँसम्म बस आउन थालेकाले दह हेर्न आन्तरिक पर्यटक आउन थालेका छन् ।’ यहाँ आउनेले स्थानीय उत्पादन मह, सिमी, बोडीको दाल, खुर्सानी, बेसार र अदुवा किनेर लग्ने गरेको उनले बताइन् । ‘दहले हाम्रो गाउँको चिनारी भएको छ,’ उनले भनिन्, ‘संरक्षण र प्रचार–प्रचार भए गाउँलेको आयआर्जनसमेत बढ्ने थियो ।’
तिरामको दह संरक्षण गर्न गाउँपालिकाले गत बर्ष ३ लाख रुपैया छुट्टाएको थियो। यसपालि पनि नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । ‘गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्र तिरामको दह, ऐरावती मन्दिर र सरुमारानीको डाँडो हो,’ उनले भने, ‘पर्यटकिय क्षेत्रको संरक्षण गर्दैछौं ।’ उनले पर्यटन क्षेत्रको प्रचार–प्रचार र संरक्षण गरेर पर्यटक भित्र्याउने र त्यसबाट हुने आम्दानीलाई गाउँपालिका स्रोतको रूपमा उपयोग गर्ने बताए ।
भालुवाङवाट प्युठान प्रबेश गर्दा मुखैमा पर्छ सरुमारानी गाउपालिका। सडक यातायात भएर यहिको ददेरीस्थित दुर्गाभगवती मन्दिर, फोर्साबाङको मदनआश्रीत पार्क,बड्डडाडाँको गढी दरवार,रानिकुवा अवलोकन गर्न सक्छन। पदमार्ग हुँदै पुठाखोला दरवार सिद्धलेक र सरुमारानीको चुली छिचोल्दै दह पुग्न सकिन्छ।यीनै संम्पदाहरुको एकिकृत रुपमा प्रचार प्रसार र पूर्वाधार निर्माण गर्न आफू लागि परेको पालिका अध्यक्ष बिश्वकर्माले बताए।उनले पर्यटकिय क्षेत्रको प्रबर्द्धनका लागि डिपीआर सुरु गरिएको सुनाए।भालुबाङ–प्यूठान सडकको बागेखोला किनारैकिनार निर्माण भएको १५ किलोमिटर मोटरबाटोबाट तिरामको दह पुग्न सकिन्छ ।











प्रतिक्रिया