सीताराम चौधरी, कपिलवस्तु ।
सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ को विरोधमा कपिलवस्तुको स्थानीय निकायमा कार्यरत कर्मचारीहरु यतिबेला आन्दोलित बनेका छन् ।
जिल्लाका १० स्थानीय निकायमा कार्यरत चारसय बढी कर्मचारी कर्मचारी समायोजन अध्यादेशको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी आन्दोलनले जिल्लाका विभिन्न निकायको कामकाज प्रभावित बनेको छ ।
मंसिर २८ गतेदेखि चलिरहेको आन्दोलनको पाँचौँ दिन स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालकहरुले स्तर वृद्धिको माग गर्दै कामकाज ठप्प पारेका थिए । कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम काज ठप्प पारेका थिए । उनीहरुले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको बताएका छन् । “निजामती कर्मचारी र आफूहरुलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेश विरुद्ध आन्दोलनमा जान बाध्य भएका हौं ।” एक कर्मचारीले बताए ।
कपिलवस्तु संघर्ष समितिका जिल्ला अध्यक्ष इन्द्रमणि गैरेले राज्यले गरेको विभेद तुरुन्त सुधार गर्नुपर्ने वताउनुभयो । “सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहमा काम गरेका कर्मचारीको अहिले मूल्यांकन नगरिनु दुःखत कुरा हो, त्यसैले हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं” –गैरेले भन्नुभयो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा साकिर अहमद खाँ, विजयनगर गाउँपालिकामा बाल बहादुर थापा, महाराजगंज नगरपालिकामा निरन्जन पौडेल, वुद्धभूमि नगरपालिकामा बावुराम खनाल, वाणंगगा नगरपालिकामा इन्द्रमणि पौडेलको संयोजकत्वमा आन्दोलन भइरहेको छ । माग सम्बोधन नभएर पेनडाउन गरी आन्दोलनलाई अझ सशक्त पार्ने संघर्ष समिति कपिलवस्तुले जनाएको छ ।











प्रतिक्रिया