नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि अत्यावश्यक आधुनिक उपकरण जडान गरिएको ‘मोबाईल फरेन्सिक ईन्भेष्टिगेसन भ्यान’ प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रम बीच महानगरीय प्रहरी अपराध महाशाखा, टेकुलाई हस्तान्तरण गर्नुभयो ।
प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी अपराध माहाशाखा, टेकुका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक धिरज प्रताप सिंहलाई उक्त भ्यानको चाबी हस्तान्तरण गर्नुहुदै संगठनलाई साधन श्रोत तथा प्रविधि युक्त बनाउन संगठनको प्राथमिकता रहेको बताउँदै यस्ता साधन श्रोतको उचित प्रयोग हुनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले जनताको अपेक्षा अनुरुप प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीले निष्पक्ष, इमान्दारीता एवम् निष्ठापूर्वक उच्च मनोबलका साथ काम गर्नुपर्ने उल्लेख गर्दै यस्ता प्रविधिहरुलाई प्रदेशहरुमा पनि विस्तार गर्दै लैजाने बताउनुभयो । साथै उहाँले अनुसन्धानमा खटिने प्रहरी अधिकृतहरुले यस्ता प्रविधिको जिम्मेवारी पूर्वक समूचित प्रयोग गर्न निर्देशन समेत दिनुभयो ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायव महानिरीक्षक सुर्य प्रसाद उपाध्यायले कार्यक्रम सम्बन्धी संछिप्त विवरण एवं मोबाईल फरेन्सिक ईन्भेष्टिगेसन भ्यानको महत्व सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागले अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बाउने उद्देश्य अनुरुप अन्तर्गत आर्थिक बर्ष २०७४र०७५ को बजेटबाट उक्त भ्यान खरिद गरिएको जानकारी दिनुभयो ।

९६ लाखमा खरिद गरिएको उक्त मोबाईल फरेन्सिक ईन्भेष्टिगेसन भ्यानमा जेनेरल क्राइम सरि ईन्भेष्टिगेसन कटि, डीएनए स्याम्पल, इभिडेन्स प्याकिङ एण्ड कलेक्सन किट लगायतका ४५ लाख रुपैयाँ बराबरका विभिन्न १६ प्रकारका फरेन्सिक ईन्भेष्टिगेसन किट जडान गरिएका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव माहनिरीक्षकहरु लगायत उच्च प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया