कहिले पुरा होला रजनिको डाक्टर बन्ने सपना

0
Shares

विमल बिष्ट, डोटी ।

‘देशमा लोकतन्त्र आयो, गाउँघर आएन । रातदिन कामकै झर्को, पढ्न त पाएन ।’

डोटी पूर्वीचौकी गाउँपालिका–७ कि १५ बर्षीया रजनी बिक देशमा आएको राजनीतिक परिवर्तनले आफु जस्ता बिपन्न किसोरीहरुलाई केही नदिएको बताउँछिन् । लेख्ने पढ्ने रहर हुँदाहुँदै पनि आफुले पढ्न नपाएको उनको गुनासो छ । उनि गितका माध्यम बाट हिजो आज आफना गुनासाहरु पोख्ने गर्छिन ।

रजनी सानै उमेरमा बिद्यालय त गईन तर नियमित बिद्यालय जान नपाउँदा उनले आफुले चाहे अनुसार पढ्न सकिनन् । स्थानीय मण्टामाण्डौं माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्ययनत उनी आफ्नो उमेरका साथी संगी माथिल्लो कक्षामा पढ्दै गरेको देख्दा दिक्दार हुन्छिन् । भन्छिन् ‘मेरो दिमागमा पढेर डाक्टर बन्ने थियो तर नियमित रुपमा बिद्यालय जान पनि पाईन तै पनि उनले डाक्टर हुने सपना छोडेकी छैनन् । ’

सामुदायिक बिकास केन्द्र डोटीको सहयोगमा हालै उक्त गाउपालिकामा गरिएको महिला हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा उनको बिद्यालयले आयोजना गरेको प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रममा रजनीले एकल गीतको माध्यमबाट यसरी आफ्नो पीडा पोखेकी थिईन ।

‘म भन्दा तीन बर्ष कान्छो भाई कक्षा ८ मा पढ्दैछ, उसको पढाई पनि ठिकै छ तर म ७ मा पढ्दैछु’ रजनी भन्छिन् ‘हामी छोरीहरुले घरको काम गर्नु पर्छ, घरको कामबाट बचेको समयमा मात्रै बिद्यालय आउने हो ।’छोरा मान्छेलाई त जतिबेलानी फुर्सदै फुर्सद हुन्छ ।

‘आधा आकाश ढाक्ने महिला नौकर जस्तै छन ।
सोद्दे पोद्दे केही हुँदैन नारा त सस्तै छन ।’

उनले गितको माध्यमबाट भनिन् ‘नारा जति लगाए पनि महिलाहरु अहिले पनि नौकर सरह छन ।’ उनी बिद्यालयले आयोजना गर्ने हरेक क्रियाकलापमा आफ्नो रचना प्रस्तुत गर्छिन् । भन्छिन् ‘यसरी सुनाएपछि कुनै दिन समाज परिवर्तन होला भन्ने आश गरेकी छु ।

गाउँमा मदिरा सेवन गरेर पुरुषले महिलाहरुमाथी गरेको हिंसाबाट पनि उनी आक्रोसित छन् । भन्छिन् ‘सरकारले रक्सी किन बन्द गर्न सक्दैन,रक्सीले कतिका घरबार बिहिन भईसके सरकार मौन छ ?’

नियमित बिद्यालय आउन नपाउँदा रजनीले पढ्न नसकेको सो बिद्यालयका प्राचार्य कर्ण भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘रजनी मेहनती त छिन् तर नियमित बिदालय आउँदिनन्,बिद्यालय नियमित नहुँदा उनको पढाईमा केही घाटा भएको छ ।’