कञ्चनपुरमा राष्ट्रपति चुरेको झिलमिला ताल अध्ययन सुरु



मनोज भट्ट, महेन्द्रनगर ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले भीमदत्त नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य झिलमिला ताल अध्ययन सुरु गरेको छ । भीमदत्त नगरपालिका कार्यालयसित सहकार्य गरी झिलमिला ताल संरक्षण र पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्न अध्ययन गर्न सुरु गरिएको हो ।

समितिका सदस्य विदुर भारती सहितको प्राविधिक टोली बिहीबार झिलमिला ताल प्रस्थान गरेको छ । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले टोलीलाई विदाई गरेका छन् ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य भारतीले झिलमिला ताल संरक्षण प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्न अध्ययन गरिएको बताए ।

‘यस वर्ष तालका लागि १५ लाख बजेट विनियोजन गरिएको छ, त्यो बजेटबाट झिलमिलामा के गर्न सकिन्छ भने अध्ययन गर्छौ, त्यसका लागि आज प्राविधिक सहितको टोली त्यतातिर जाँदैछौ’ समिपिका सदस्य भारतीले भने ।

समितिले यस अघि भीमदत्त नगरपालिका वडा नं. १ बाराकुण्डामा बाह्रकुण्डाका ताल रिचार्जका लागि जल पुनःभरण गरेको थियो । अहिले बाराकुण्डामा १२ ताल पानीले भरिएका छन् ।

चुरे क्षेत्रका ताल तलैयामा पानी रिजार्चका लागि समितिले कार्यक्रम सञ्चालन गर्र्दै आएकोले गत वर्ष बाराकुण्डा र यस वर्ष झिलमिलामा कार्यक्रम गर्न लागिएको सदस्य भारतीले बताए ।

अध्ययन टोलीमा समितिका सदस्य भारती सहित समितिका सहायक वन अधिकृत शंकर कुमार गिरी, वन तथा जलाधार विज्ञ सुरज थापा, शोभराज अधिकारी, प्राविधिक सहायक हेमराज ओझा, भीमदत्त नगरपालिकाका वातावरण विकास अधिकृत पदम जोशी लगायतका छन् ।

भीमदत्त नगरपालिका वडा नं. ९ को चुरे क्षेत्रमा पर्ने दैनिक तीन पटक रङ्ग फेर्ने झिलमिला तालमा पानीको सतह वर्षौदेखि यथास्थितिमा छ । चारैतिर घना जङ्गल भएको तालमा रुखका पात नदेखिनु र वर्षौदेखि एकै आकारका माछा पाइने भएकाले विचित्रको तालका रुपमा लिने गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन प्रचार प्रसार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए ।

‘यो विचित्रको ताललाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार, पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएका छौ’ नगर प्रमुख विष्टले भने ।

नगर प्रमुख विष्टले ताललाई पर्यटकीय गन्तव्य बनाउन राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिसित सहकार्य गरिएको बताए । ताल सहित चुरे क्षेत्र संरक्षणका लागि परशुराम नगरपालिकासित समझदारी गरिएको नगर प्रमुख विष्टको भनाई छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस वर्ष ताल संरक्षणका कार्यक्रम सञ्चालन गर्न १५ लाख बजेट विनियोजन गरेको छ । समितिले चुरे संरक्षणका लागि स्थानीयलाई सचेत गराउन विद्यार्थीहरुश्रलाई चुरे सम्बन्धी जानकारी लेखिएका कापी वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्