पर्यटकिय क्षेत्रको विकासमा जोड दिँदै मालिकार्जुन गाउँपालिका

0
Shares

किरन धामी, दार्चुलाका ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका अन्र्तगत ओझेलमा परेका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसारमा जुटेको छ । गाउँपालिका अन्र्तगत ओझेलमा परेका बिभिन्न ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पहिचानमा जनप्रतिनिधि जुटेका हुन् ।

गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुले राष्ट्रकै सातौधाम मालिकार्जुन मन्दिर र शिखरधुराको स्थलगत अनुगमन गरि प्रचार प्रसारमा जुटेका छन् ।
जिल्लाको लेकम क्षेत्रमा पर्ने मालिकार्जुन गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अनुरुप पर्यटकीय पुर्वाधार निर्माणका लागी सर्वे कार्य समेत सुरु भएको गाउपालिका अध्यक्ष नरेन्द्र सिह धामीले बताए ।

चालु आर्थिक वर्ष २०७५/७६ मा पर्यटकीय पुर्वाधारहरु निर्माणका लागी गाउँपालिकाले झण्डै पौने करोडको हाराहारीमा बजेट खर्च गर्ने अध्यक्ष धामीले जानकारी दिए । सरकारले हालै पहिचान गरेका १ सय वटा नयाँ पर्यटकिय गन्तव्यहरुको सुचिमा राष्ट्रकै सातौधाम मालिकार्जुन मन्दिर तथा अपिहिमाल परेको छ ।

नेपालकोे पर्यटन प्रवद्र्धनका लागी नयाँ गन्तव्यको सुचीमा परेको मालिकार्जुन क्षेत्रमा सरकारले ५० लाख रुपैया विनियोजित गरेको अध्यक्ष धामीको भनाई छ । उक्त रकमलाई खर्च गर्न सक्ने पुर्वाधारका क्षेत्रहरु पहिचान गरी विस्तृत कार्यक्रमको प्रस्ताव मन्त्रालयमा पेश गर्न पत्राचार भएकोले सर्वे कार्य सुरु गरिएको समेत अध्यक्ष धामीले बताए ।

मन्त्रालयले गन्तव्य पुग्नका लागी ट्रेल निर्माण, मर्मत, शौचालय, विश्राम स्थल, पार्क निर्माण, खानेपानी लगायतका पुर्वाधार निर्माणमा खर्च गर्न सक्ने जनाएको छ ।

यस्तै मन्दिर, दरवार, संग्राहालय, लगायतका पुरातात्विक महत्वका संरचना मर्मत, जिर्णोद्धार, भौतिक पुर्वाधार संरक्षणमा मा समेत उक्त रकम खर्च गर्न सक्ने मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

यस्तै मालिकार्जुन धार्मीक एवं पर्यटकीय क्षेत्रको विकासका लगाी चालु आवका लागी पर्यटन बोर्डबाट रु २० लाख र प्रदेश सरकारबाट रु ४ लाख ७५ हजार रुपैया विनियोजित भएको समेत अध्यक्ष धामीले जानकारी दिए ।