२ जर्किन तेलका लागि प्रहरीमाथि आक्रमण

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.– १ पाडेपुरमा सोमबार राती प्रहरीमाथि तस्करहरुले दुई जर्किन तेलका लागि आक्रमण गरेको पाइएको छ ।

नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगरनाथपुर गाउँपालिका स्थित पाडेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि उल्टै आक्रामण भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुई वटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने क्रममा प्रहरी चौकि पाडेपुरका प्रहरी सहायक निरीक्षक विसुन्देवा यादवको नेतृत्वमा गस्तीमा खटेको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले प्रहरीलाई कुटपिट गरी हतियार समेत खोसेर भाग्न सफल भएका थिए ।

पाडेपुर र सीमावर्ती भारतीय गाउँका तेल तस्करहरुले प्रहरीको साथबाट थ्री नट थ्री राइफल पनि खोसेर भागेका थिए ।

प्रहरीबाट तस्करहरुले खोसेको राइफल भने घटनास्थल नजिकैको खेतमा फेला परेको छ । घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय वीरगन्जबाट प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गएको सुरक्षाकर्मीहरुको टोलीले खोजतलास गर्दा खोसिएको हतियार फेला परेको पर्साका प्रहरी नायव उपरीक्षक मान बहादुर राइले जानकारी दिए ।तस्करहरूको आक्रमणमा सहायक निरीक्षक बिष्णुदेवी यादवलगायत हवल्दार प्रेम बहादुर राणा र प्रहरी जवान अर्जून चौधरी घाइते भएकोमा उनीहरुले अहिले वीरगन्ज स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

तस्करहरुले दुई जर्किन तेल नेपालबाट भारत तर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई रोक्न खोन्दा आफूहरुमाथि अक्रमण भएको घाइते प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए ।