महेश न्यौपाने, रोल्पा
रोल्पाको वन क्षेत्रमा रहेका गैरकाष्ठ वन पैदावर यहाँका उपभोक्ताको आयआर्जनको भरपर्दो श्रोतको रुपमा देखिएका छन । गैरकाष्ठ वन पैदावर सामुदायिक वन समूहको कोषको भर पर्दो श्रोत हुनुको साथै त्यसका सदस्यहरुको जीविकोपार्जनको साधन समेत वन्न थालेका छन ।
कुल क्षेत्रफलको करिव आधा वन क्षेत्रले ढाकिएको रोल्पाका वनहरुमा सल्लाको खोटो, चिराइतो, टिमुर,तेजपात, सुगन्धवाल,पाषणवेद,काउलाको वोक्रा,विषफेज, दालचिनिको वोक्रा,जटामसी, कुरिल्लो,सुगन्ध कोकिला,गुच्ची च्याउ जस्ता सयौ थरिका जडिवुटीहरु पाईन्छन । यी गैर काष्ठ वन पैदावरवाट ठूलो मात्रामा आमदानी हुने गरेको छ । सरकारद्धारा व्यवस्थीत वनवाट गत वर्ष करिव १६ लाख आमदानी भएको जिल्ला वन कार्यालय रोल्पाको अभिलेखमा उल्लेख गरिएको छ । सामुदायिक वन र नीजि जग्गामा लगाइएका जडीवुटीबाट वार्षिक करोडौ रुपैयाँ आमदानी हुने गर्दछ ।
सामुदायिक वन र नीजि जग्गा धनिले सिधै स्थानीय संकलकलाई जडिवुटी विक्री गर्ने भएकाले त्यसको आधिकारिक तथ्यांक थाहा हुन सकिएको छैन । जिल्लामा रहेका सामुदायिक वन मध्ये ११५ वटा सामुदायिक वनहरुवाट गत वर्ष झण्डै २६ लाख किलोग्राम खोटो निकासी भएको थियो । त्यसरी निकासी भएको खोटोवाट जिल्लाका सामुदायिक वनको खातामा २ करोड ६० लाख ४१ हजार रुपैयाँ जम्मा भएको थियो । यसैगरि प्रति किलो ८० पैसाका दरले जिविस कर स्वरुप विभिन्न ७ वटा खोटोकम्पनीहरुले करिव २१ लाख रकम वुझाएका थिए । यसैगरि मूल्य अभिवृद्धी कर स्वरुप करिव ३४ लाख रुपैयाँ खोटोवाट जम्मा भएको थियो ।
खोटोवाट सयौंको संख्यामा स्थानीयहरुले रोजगारी पाउने गरेका छन । खोटो संकलक, ढुवानीकर्ता, सुपरभाईजर जस्ता काममा उनीहरुले रोजगारी पाउने गरेका छन । मौसमी रोजगारीको रुपमा त्यस्ता अवसर प्राप्त हुने गरेको कालिपोखरी सामुदायिक वन उपभोक्ता समूहका पुर्व अध्यक्ष मतिकला शर्माले वताईन ।
जिल्ला वन कार्यालय रोल्पाको अभिलेख अनुसार जिल्लामा ५१ वटा वनमा आधारित उद्योग दर्ता भएका छन । जसमध्ये ३५ वटा काष्ठ तथा फर्निचर उद्योग रहेका छन । यसैगरि ४ वटा हाते कागज उद्योग दर्ता भएका छन । घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका वनमा आधारित उद्योग अन्तरग ४ वटा जडिवुटी तथा मसला उद्योग रहेका छन ।
यसैगरि जिल्लामा ८ वटा अल्लो उद्योग दर्ता रहेका छन । यसका अतिरिक्त कैयौं उद्योगहरु दर्ता विना संचालनमा ल्याइएको वताइएको छ । सानो मेसिन जोडेर संचालन गरिएका घरेलु उद्योगहरु दर्ता नगरिएको वताइएको छ । वनमा आधारित उद्योगवाट स्वरोजार हुने तथा रोजगारी सिर्जना गर्ने संख्या वढे संगै रोजगारी खोज्न वाहिर जाने मात्रा समेत घट्दै गएको वताईन्छ ।
विगतमा एक सामुदायिक वन एक उद्यमको नारा अगाडी सारिए पनि नारा अनुसारको नीति र सहजीकरण नहुदा सामुदायिक वनले चाहेर पनि काम गर्न नसकेको सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिं डाँगीको भनाई छ । वनवाट संवृद्धी हासिल गर्ने हो भने राज्यले एक वन एक उद्यमको अवधारणालाई कार्यान्वयन गर्नु पर्छ अध्यक्ष डागीले भने । स्थानीय सरकारले समेत जिल्लाको गैर काष्ट वन पैदावर विकास, प्रवद्र्धन र वजारीकरणमा जोड दिनु पर्छ अध्यक्ष डाँगीले भने ।











प्रतिक्रिया