पुण्यमातामा धमाधम ‘करिडोर’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
पुण्यमाता खोलाको दाँया बाँया बगैचा सहितको करिडोर सडक निर्माण कार्य शुरु गर्न तीनवटा नगरपालिकाले बनाएको योजना कार्यान्वयन हुन थालेको छ ।
पुण्यमाता खोलाको सिमाकंन, सडक ग्राभेल सँगै बगैचा निर्माण कार्य गरी बैकल्पिक मार्ग संचालन हुन थालेको छ । पनौती नगरपालिकाले पहिलो चरणमा त्रिवेणीघाटबाट बनेपासम्मको ६ किलोमिटर पुण्यमाता करिडोरको निर्माण कार्य शुरु गरेको छ । खोलाको सिमांकन कायम गरी सिमाकंन अनुसार पुरिदै गएको खोला खोल्ने काम भईरहेको छ । ६ मिटर देखि २२ मिटरसम्म खोलाको चौडाई छ । ६ मिटरको चौडाईलाई ८ मिटरसम्म बनाईनेछ ।

पहिलो चरणमा खोलाको सिमाकंन सम्पन्न गरी खोला खोल्ने र एकातर्फ ग्राभेल गर्ने कार्य शुरु भएको नगर प्रमुख भिम न्यौपानेले बताए । पनौतीको दुध मिल देखि धुलिखेलको सिमानासम्म गाडी चल्ने गरी एकातर्फ १० मिटरको सडक निर्माण हुनेछ । पनौती नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भए लगत्तै पुण्यमाता करिडोरमा बैकल्पिक मार्ग बनाउने उदेश्यले टिपरसँग ५ सय रुपैया उठाउन शुरु गरिएको थियो । करिडोर निर्माणका लागि ७ करोड बजेट विनियोजन गरिएको छ ।

खोलाको सिमाकंन अनुसार पुरिएको खोल्न उपभोक्ता समिति मार्फत काम शुरु भएको छ । इश्वर बञ्जाराको अध्यक्षतामा गठन भएको समितिलाई ३० लाख रुपैया बजेट विनियोजन गरिएको छ । त्रिवेणीघाट देखि धुलिखेलसम्मको खोला खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । खोलाको सिमाना कायम गरी खोलाबाट १५÷१५ मिटरको मापदण्ड अनुसार मात्रै संरचना निर्माण गर्न पाईनेछ । अगाडीको सडकको मापदण्ड र पछाडी खोलाको मापदण्डको बीचमा परेका केहि सडकहरुलाई भने ब्यवहारत जग्गा क्षति नपु¥याउने तयारी गरेको छ । पुण्यमाता करिडोर खोलाको सिमाना १५ मिटर कायम गरिएको छ । पुण्यमाता करिडोरमा ग्याभिङ्ग तार भर्ने, ग्राभेल भर्ने र हिमपाईप र कल्भर्ट बनाउने योजना छ । करिडोरमा भत्किएका तीनवटा घाटेपाटीको पुनर्निर्माण समेत नगरपालिकाले गरिदिएको छ ।

पनौती नगरपालिकाले पहिलो चरणको कार्य सम्पन्न भए लगत्तै दोश्रो चरणमा दुध मिलबाट त्रिवेणी आसपासका घर तथा अन्य संरचनाको सिमांकनका लागि नापी कार्यालयलाई जिम्मेवारी प्रदान गरेको छ । नापी कार्यालयको टोलीले दिएको प्रतिवेदनका आधारमा खोला सिमानामा बनाईएका संरचनाहरु भत्काईनेछ । २०७६ सालमा आउन लागेको मकर मेलाको तयारी तथा ब्यवस्थापनका लागि समेत नगरपालिकाले पार्क निर्माण, रंगशालाको निर्माण कार्य सम्पन्न र करिडोरको कार्यलाई पुर्ण गर्ने योजना बनाएको नगर प्रमुख न्यौपानेले बताए । उता धुलिखेल नगरपालिकाले पनि आफ्नो सिमानामा पर्ने पुण्यमाता करिडोर खोल्ने तयारी गरेको छ । त्यसका लागि बजेट विनियोजन भई कार्य प्रारम्भ गर्न लागिएको उपप्रमुख विमला शर्माले बताईन् । सिमांकन लगत्तै निर्माण कार्य शुरु गर्ने उपप्रमुख शर्माले बताईन् ।