‘क्यान्सर ठूलो रोग होइन तर झुक्याउन सक्छ’

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ । ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसँगको लडाँई जितेका २२ महिला र ५ पुरुष र्याम्पशोको तयारी गरिराखेका भेटिन्छ । तैपनि उनीहरुको अनुहारमा गजवको चमक देखिन्छ, साँच्चै लडाँई जितेर आएको वीरयोद्धाजस्तो ।
हाउभाउ, स्वस्थ र जोशिलो शरीर, दृढ आत्मविश्वास देख्दा उनीहरुलाई क्यान्सर भएजस्तै लाग्दैन ।

उनीहरू हुन् –यही पुस २७ गते नेपालमा पहिलोपल्ट हुन लागेको ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्पशो’ कार्यक्रमको लागि कोरियोग्राफर डली गुरुंगसंग र्याम्प सिक्दै गरेका एक समूह । क्यान्सर जितेर दोस्रो जीवन पाएकाहरुको सहभागितामा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरको सहयोगमा नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा उक्त कार्यक्रम हुँदैछ । डली पनि क्यान्सर जितेकी एक दृढ, साहसी र सफल व्यवसायी मात्रै नभई नेपालकै पहिलो मोडेल समेत हुन् । उता र्याम्पशोकी कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठ पनि ‘र्याम्पवाक’ गरिराखेका २७ जनालाई क्रमशः हेर्देछिन् ।

मानिस सडक दुर्घटनादेखि झाडापखाला, निमोनिया, जण्डीसदेखि हेपाटाइटिस, एचआइभिदेखि एड्स, उच्च रक्तचापदेखि हृदयाघात, डायबिटिजदेखि मिर्गाैला जस्ता खराब रोगले अकालमै मरिरहेका छन् । तैपनि क्यान्सरलाई मात्रै डरलाग्दो रोगका रुपमा लिने गरेको पाइन्छ । यस्तो भ्रम र गलत धारणाको अन्त्य गर्न नेपालमै पहिलोपटक उक्त कार्यक्रम आयोजना गरिएको सर्भाईभर ग्रुपकी सदस्य सकेत रेहकी कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठ बताउनुहुन्छ ।
‘समयमै उपचार गर्नसके क्यान्सर भनेको ग्यास्ट्रिक, उच्च रक्तचाप, चिनीरोग र अरु साधारण रोगजस्तै हो’ उहाँ थप्नुहुन्छ—‘तर समयमै पत्ता लगाएर उपचार गराउन सकिएन भने झाडापखाला, साधारण ज्वरो, निमोनिया र रुघाखोकी बिग्रेर मर्नुपरेको जस्तै हुन्छ ।’

क्यान्सर निको भएकाहरुलाई अगाडी ल्याएर उनीहरुमार्फत क्यान्सर अरु जस्तै सामान्य रोग हो, नियमित उपचार गरे निको हुने मात्रै हैन क्यान्सरपछि पनि जीवन पाइन्छ भनेर सन्देश फैलाउनसकिने उहाँको विश्वास छ ।
‘र्याम्पशो’को तयारीमा जुटेकाहरु आफुलाई क्यान्सर लागेको थियो भनेर भन्न पटक्कै हिच्किचाँउदैनन, । उनीहरु खुलेरै भन्छन—‘क्यान्सर लागेको थियो निको भइसक्यो ।’

उक्त कार्यक्रमका सहआयोजक नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठ समयमै रोग पत्ता लागेर उपचार भएमा सबै प्रकारको क्यान्सरको उपचार नेपालमै हुने बताउनुहुन्छ । उहाँ क्यान्सर उपचारका लागि कुनै नेपाली विदेश जानु नपर्ने दावी गर्नुहुन्छ ।