दुर्गाप्रसाद शर्मा, पर्वत
परिवारबाट हिंसाको शिकार भएकी पर्वतकी एक महिलाले १७ बर्ष पछि मात्रै श्रीमानको नाम राखेर नेपाली नागरिकता पाएकी छन ।
नागरिकता प्रमाणपत्र दिन श्रीमान्ले नमान्दा पर्वतको जलजला गाउँपालिका ७ धाइरिङकी ३४ बर्षिय सेती परियारले विवाह गरेको १७ बर्ष पछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन । परियारलाई बिहीबार जिल्ला प्रशासन कार्यालय पर्वतले नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ ।
सेती परियारका श्रीमान् गोविन्द दमाईले पालन पोषण र रेखदेख नगर्ने र नागरिकता दिन समेत अस्विकार गर्दै आएका थिए । पिडीतको अवस्था बुझेपछि जिल्ला प्रशासन कार्यालयले प्रहरी मार्फत ससुरालाई कार्यालयमा झिकाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
‘सनाखत गर्न आउन नमानेपछि प्रहरी पठाएर झिकाउने काम गरेका हौ’ प्रजिअ ढकालले भने ‘श्रीमतीलाई माया, ममता त परैजाओस नागरिकता समेत नदिएपछि ससुरालाई सनाखत गराएर नागरिकता दिइएको छ’
नेपाली नागरिकता प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट बञ्चित भएकी सेती परियारलाई उनका ससुरा ठूले परियारले सनाखत गर्दै नागरिकता प्रमाणपत्र दिलाउन सहयोग गरेका हुन् । पिडित सेती परियारले आफु श्रीमान्बाट पिडित भएको र नेपाली नागरिकता समेत पाउन नसकेको भन्दै २०७५ कार्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधि समक्ष सहयोगका लागि निवेदन पेश गरेकी थिइन् ।
उनको निवेदनको आधारमा जलजला गाउँपालिका ७ धाइरिङका वडा अध्यक्ष टुङगनाथ शर्मा समक्ष सिफारिस दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटक पटक नागरिकता दिलाउन आग्रह गरिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए ।
जलजला गाउँपालिका वडा नं. ७ साविकको धाइरिङ गाविस ३ माइतघर भई सोही स्थानमा घर भएका ३२ बर्षिय गोविन्द दमाई सँग २०५८ साल मंसिर २२ गते सामाजिक परम्परा अनुसार विवाह गरेकी थिइन् । उनको १३ बर्षिय छोरा रुद्र र ३ बर्षिय छोरा सुरज परियार छन् । मजदुरी गरेर जिविका चलाउँदै आएका उनीहरु एक बर्ष अघि दोश्रो विवाह गरेर श्रीमान्ले दोश्रो श्रीमती घरमा ल्याएपछि उनी घरेलु हिंसाको सिकार बन्दै गएकी थिइन् । श्रीमान् गोविन्द परियारले बुधबार नै वडा कार्यालय धाइरिङमा पुगेर श्रीमतीलाई पालन पोषण र रेखदेखमा कुनै विभेद नगर्ने भन्दै लिखित रुपमा प्रतिबद्धता समेत जनाएका छन् ।











प्रतिक्रिया