नेपाल समाचारपत्र, काठमाडौं
झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल÷मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए ।
तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम्मर कसेका छन् । जसअनुसार बुधबार मात्रै यी दुई महानगरपालिकाले २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल संचालनका सम्भाव्यता देखिएपछि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेल वे २५ औँ व्यूरो ग्रुप कम्पनी लिमिटेडसँग बुधबार सम्झौता भएको छ । यी दुबै महानगरपालिकाले संयुक्त रुपमा उक्त कम्पनीसँग सम्झौता भएको हो ।
डीपीआर बनाउन चिनियाँ कम्पनीसँग सम्झौता
सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक झु ग्वाङबिङले हस्ताक्षर गर्नुभएको थियो । अबको एक वर्षभित्र कम्पनीले डीपीआर तयार गरिसक्ने काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले बताउनुभयो । ‘हामीले राज्यलाई आर्थिक बोझ नपर्ने गरी सम्झौता गरेका छौँ’, उहाँले भन्नुभयो । ट्राफिक जाम लगायत प्रदुषणमा कमी ल्याउन रेल उचित विकल्प हुने भन्दै पटक÷पटकको छलफलपछि यो सम्भव भएको उहाँले बताउनुभयो ।
डीपीआर तयार भएपछि खुला प्रतिस्पर्धाबाट निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडलमा रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा गरिने प्रमुख शाक्यको भनाइ छ । त्यसमा उपयुक्त ठहरिएको कम्पनीले सीसीआरसीबाट डीपीआर किन्नुपर्ने प्रमुख शाक्यले प्रष्ट पार्नुभयो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मोनोरेल आफ्नो पनि चुनावी एजेण्डा रहेको भन्दै चिनियाँ कम्पनीलाई जतिसक्दो छिटो काम अघि बढाउन आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधनका क्रममा चिनीया कम्पनीका निर्देशक ग्वाङबिङले निर्धारित समयभित्रै सफलतापूर्वक सम्पन्न गर्न उत्सुक रहेको धारणा राख्नुभयो ।
चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । निर्माण थालेको ३ वर्षपछि मोनोरेल बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
चक्रपथको सडकमाथिको कुल २७ दशमलब ५ किलोमिटरमा २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने गरी मोनोरेल निर्माण गर्न सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जसअनुसार मोनोरेलको स्टेशन कोटेश्वर(कलंकी, कलंकी(महाराजगञ्ज, महाराजगञ्ज(कोटेश्वर गरी तीन खण्डमा हुनेछ । डीपीआर बनाउन लाग्ने सम्पूर्ण खर्च स्वयं कम्पनीले नै व्यहोर्ने सम्झौतामा उल्लेख छ ।











प्रतिक्रिया