काठमाडौं, (नेस)
लिवर्टी इनर्जी कम्पनीद्वारा प्रवद्र्धित लमजुङ जिल्लास्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतको लागि साधारण शेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलबीच सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा एनआईबीएलएस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक कबिन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभयो ।
कम्पनीको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड रहेकोमा उक्त पुँजीको १० प्रतिशतका दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दा र थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने योजना रहेको छ ।
शेयर जारी गरी बाँडफाँड गरेपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँ हुनेछ ।
कम्पनीले हाल निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना लमजुङ जिल्लास्थित दोर्दी गाउँपालिका (साविक फलेनी र ढोडेनी गाविस) मा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल खन्ने कार्य सम्पन्न भई सोको फिनिसिङ कार्य भइरहेको कम्पनीले जनाएको छ । पेनस्टक पाइप राख्ने काम अन्तिम चरणमा पुगि सकेको, हेडवक्र्स तथा डिसेन्डर र पावर हाउस तथा टेलरेसको कार्य समेत अन्तिम चरणमा पुगेको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरण जडानको लागि समेत तयारी भइरहेको छ ।
आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहेको उक्त आयोजनाको करिब ८५ प्रशितश सम्पन्न भइसकेको छ । आयोजना आगामी चैत्र मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
उक्त आयोजनाबाट उत्पादित विद्युत् निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको कीर्तिपुरस्थित सब–स्टेशनमार्फत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।
प्रतिक्रिया