गाउँपालिकाले एकैपटक ३६६ जनालाई दियो रोजगारी

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वत जिल्लाको महासिला गाउँपालिकाले एकै पटक ३ सय ६६ जनालाई रोजगारी दिएको छ ।

गाउँपालिकाको एक परिवारमा एक जनालाई रोजगारी दिने उद्देश्यसहित शुरु गरेको ‘एक घर एक रोजगारी’ कार्यक्रम मार्फत पौषदेखि ३ सय ६६ जनालाई रोजगारी दिएको हो । एउटै गाउँपालिकाले एकैपटक यति ठूलो संख्यामा रोजगारी दिएको संभवत मुलुककै पहिलो हो ।

गाउँपालिकाले १५ दिन खटाएको ठाउँमा स्वयंसेवकको रुपमा काम गर्ने र १५ दिन घरमै बसेर उत्पादनमा लगाउने योजनासहित रोजगारी दिएको हो । गाउँपालिकाका प्रबक्ता जीवन उच्चै ठकुरीले दिएको जानकारी अनुसार सबैभन्दा बढी २ सय २० जनालाई सडक स्वयंसेवकको रुपमा रोजगारी दिइएको छ । उनीहरुले सडक मर्मत, स्तरउन्नती लगायतका काम गर्नेछन ।

२० जनालाई शिक्षक स्वंयमसेवक बनाइएको छ भने २७ जनालाई बिद्यालय स्वयसेवक बनाएर गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा मन्टेश्वरी पढाउने शिक्षकको रुपमा खटाउने भएको छ । गाउँ प्रहरीको रुपमा ३४ जनालाई गाउँरक्षक स्वयमसेवकको रुपमा रोजगारी दिइएको छ ।

यस्तै १० जना बिद्युत स्वयंसेवक, १० जना प्लम्बर, ५ जना सहकारी स्वयसेवक, ११÷११ जना कृषि र पशु स्वास्थय स्वयंसेवक, जनस्वास्थ्य स्वयंसेवक ५ जना, सामाजिक परिचालक ६ जनालाई रोजगारी दिइएको छ ।

गाउँपालिकाले पहिलो चरणमा ३ सय ७० जनालाई सीपमूलक तालिमसहित ‘महाशिला विकास स्वयमसेवक’ को रुपमा भर्ना गरे पनि दोस्रो चरणको सिपमुलक तालिम सहित ३ सय ६६ जनालाई छनौट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए । ‘दोस्रो चरणमा बिद्यागत तालिम दिएपछि पुर्णरुपमा स्वयंसेवक खटाउँछौ’ क्षेत्रीले भने ‘दुई महिना सम्म तालिम चलाएपछि रोजगारीमा खटिन्छन् ।’

महाशिला गाउँपालिकामा २ हजार २ सयबढी परिवार बसोबास गर्दै आएकोमा झण्डै एक हजार परिवार बेरोजगार रहेको गाउँपालिकाले अनुमान गरेको छ । सबै घरमा एकैपटक कार्यक्रम सुरु गर्न नसके पनि अहिले ३ सय ६६ जनाबाट शुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए । १५ दिनसम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक ६ हजार रुपैया दिइने र बाँकी समय घरमा काम गरि परिवारमा समेत रोजगारी आम्दानी गराउनुपर्ने सर्त समेत अनिवार्य गरिएको छ ।

‘गाउँपालिका भित्र आवश्यक पर्ने शिक्षक देखि सबै जनशक्ति तयार गर्न पनि यस्तो अवधारणा अघि सारिएको छ ।’ रोजगारी पाएका सबैलाई न्युनतम पाँच लाख बराबरको दुर्घटना बिमा गराएको छ भने एउटै पोशाकमा खटाइएको छ ।