प्रसारणलाइन निर्माणमा उपमहानगरपालिकाको अवरोध

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
कोसी करिडोर २ सय २० केभी राष्ट्रिय प्रसारणलाइन निर्माणको काम समयमै सक्न धरान उपमहानगरपालिकाले अवरोध सिर्जना गरेको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर २० को चिण्डे डाँडामा गोर्खा मेमोरियल पार्क, भ्युटावर, प्याराग्लाइडिङलगायत पर्यटकीय संरचना बनाउने भन्दै उपमहानगरपालिकाले सो क्षेत्रमा बनिरहेको प्रसारणलाइनको रुट परिवर्तन गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिसकेको छ ।

राष्ट्रिय गौरवको उक्त आयोजना बनाउन शुरुवाती चरणमा कुनै विरोध नगरेका र मुआब्जा समेत लिइसकेका स्थानीयबासीले अहिले त्यो ठाउँबाट प्रसारणलाइन बनाउन नहुने भन्दै उपमहानगरपालिकामार्फत् प्राधिकरणलाई दबाब दिइरहेका छन् ।

विस्तृत आयोजना प्रतिवेदनअनुसार प्रसारणलाइन निर्माणका लागि सो रुटमा पर्ने अधिकांश ठाउँमा विद्युत् पोल र ट्रान्समिटर जडानको काम भइरहेको छ । तर, सो क्षेत्रमा पर्यटकीयस्थल बनाउने भन्दै उपमहानगरपालिकाले प्रसारणलाइनको रुट परिवर्तन गर्न भनेपछि आयोजना निर्माणको काममा अवरोध देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङका अनुसार प्रसारणलाइनको रुट परिवर्तन गर्दा आयोजना निर्माणको काम थप दुई वर्ष पर धकेलिन्छ भने सो अवधि ठेकेदार कम्पनीलाई तिर्नुपर्ने दायित्व पनि बढ्छ । ‘उपमहानगरपालिकाको अवरोध बाँकी नै रह्यो भने अबको एक महिनापछि ठेकेदार काम विहीन हुन्छ । रुट परिवर्तन गर्न थप अध्ययन गर्नुपर्ने हुन्छ ।

मुआब्जा वितरण, ईआईए, आईएमा नै वर्षौ लाग्छ । जुन क्षेत्रमा अवरोध भइरहेको छ, त्यहाँ सबै काम सकिसकेको छ । प्रसारणलाइनले पर्यटकीय क्षेत्र बनाउन कुनै अवरोध गर्दैन । तर, पनि उपमहानगरपालिकाले काम गर्न दिएको छैन ।’

घिसिङले भन्नुभयो । आयोजना निर्माणका लागि रुट निर्धारण भइसकेका कारण प्रसारणलाइन सार्न असम्भव जस्तै रहेको घिसिङको भनाइ छ । ‘एक जना व्यक्तिले एउटा बन्नबाट टावर रोकिदिन्छ । टावर निर्माण गर्नु हामीलाई कुनै आयोजना निर्माण गर्नुभन्दा कम चुनौतीपँर्ण छैन । तर, ठेकेदार गतिलो परेका कारण हामीले दुईवर्ष लाग्ने निर्माणको काम डेढ वर्षभित्र बनाउने भनेका छौं ।’ उहाँले भन्नुभयो ।

उपमहानगरपालिकाले कोशी करिडोर प्रसारणलाइन सार्न दबाब दिएकोप्रति प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पनि असन्तुष्टि जनाउनु भएको छ । सोमबार राजधानीमा आयोजना गरेको कोसी करिडोर २ सय २० केभी प्रसारणलाइन विषयक अन्तत्र्रिmया कार्यक्रममा मुख्यमन्त्री राईले कुनै उपमहानगरपालिकाले सरकारले गरिरहेको विकास गतिविधिलाई रोक्ने र अवरोध पु¥याउने काम गर्नु निक्कै लज्जास्पद भएको बताउनुभयो ।

प्रदेश सरकारले उपमहानगरपालिका र संघीय सरकारबीच मध्यस्थकर्ताको भँमिका खेल्ने भन्दै मुख्यमन्त्री राईले आयोजना निर्माणका अहिले देखिएको अवरोध हटाउन आफँले पहल गर्ने पनि आश्वासन पनि दिनुभयो ।
सोही कार्यक्रममा प्रदेश नम्बर १ का सभामुख प्रदीप भट्टराई र सुनसरी क्षेत्र नम्बर एकका सांसद जयकुमार राईले भने कुनै पनि हालतमा सो ठाउँबाट प्रसारणलाइन जान नहुने धारणा राख्नुभएको छ ।

प्रसारणलाइन निर्माण गर्न लागिएको ठाउँलाई प्रदेश नम्बर १ कै प्रमुख पर्यटकीय गन्तव्य बनाउनुपर्ने भन्दै दुवै जनाले प्रसारणलाइन निर्माणका लागि अर्को विकल्प खोज्नुपर्ने धारणा ऊर्जा उत्पादक संघ संस्थाले आफँले उत्पादन गरेको विद्युत् खेर जाने अवस्था आएको भन्दै चाँडै प्रसारणलाइन निर्माण गर्न समेत सरकारसँग आग्रह गरेका छन् । प्रसारणलाइन निर्माणमा भएको ढिलाईका कारण प्रदेश नम्बर १ मा १७ वटा आयोजनाबाट उत्पादित १ सय ९ मेगावाट विद्युत् खेर जाने अवस्थामा पुगेको छ ।

त्यसैगरी निर्माणको अन्तिम चरणमा रहेका १४ वटा आयोजनाबाट उत्पादन हुने १ सय ५१ मेगावाट विद्युत पनि खेर जाने देखिन्छ । उक्त प्रदेशमा ५ सय १६ वटा आयोजनाको पीपीए नै सम्पन्न भइसकेको छ । तर, प्रसारणलाइन निर्माणमा ढिलाई हुँदा ती आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था सिर्जना भएको छ ।

प्रसारणलाइन निर्माणका लागि १० हजारको संख्यामा रुख छपान तथा कटानको काम समयमै हुन नसक्दा पनि काममा ढिलाई भईरहेको आयोजना प्रमुख राजन ढकालको भनाइ छ । वन विभागले आयोजना प्रभावित क्षेत्रमा पर्ने रुख छपान र कटानका लागि पहल नगर्दा तथा बालुवा तथा गिट्टी सहज रुपमा उपलब्ध नहुँदा आयोजना निर्माण सम्पन्न गर्ने समय टाढिँदै गएको ढकालको भनाइ छ ।