मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिका वडा नं। २ मा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टका प्रमुख आतिथ्यमा सोमबार कार्यक्रम गरी २६ जनालाई सिरक वितरण गरिएको छ ।
वडा कार्यालयमा गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले स्थानीलाई सिरक प्रदान गरे । उक्त अवसरमा नगर प्रमुख विष्टले वडा कार्यालयले जाडो याममा कमजोर अवस्थाका स्थानीयलाई सिरक वितरण गरेकोमा धन्यवाद दिदैं वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने बताए । ‘यो राम्रो कार्य हो, आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिइनेछ’ नगर प्रमुख विष्टले भने ।
वडा नं। २ का वडा अध्यक्ष डम्मर सिह कार्कीको सभापतित्वमा गरिएको कार्यक्रममा समाजसेवी लक्ष्मी भट्ट सहित जनप्रतिनिधि, बुद्धिजीवि, स्थानीय सहभागी भएका छन् ।
वडा अध्यक्ष कार्कीले कमजोर आर्थिक अवस्था भएका परिवारलाई जाडोबाट जोगाउन सिरक वितरण गरिएको बताए । ‘अति विपन्न परिवारलाई सिरक वितरण गरिएको छ, यसबाट केही हदसम्म भए पनि जाडोबाट जोगिन टेवा पुग्ने आशा गरेका र्छौ’ उनले भने ।











प्रतिक्रिया