प्रदेश सञ्चार कानुनमा पत्रकारहरुको आपत्ति

0
Shares

नरेन्द्र केसी, दाङ ।
प्रदेश ५ को सरकारले मन्त्रिपरिषद्बाट पारित गरी प्रदेशसभामा पेश गरेको प्रदेश सञ्चार कानूनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघ दाङकोको २६ औं स्थापना दिवस तथा साधारणसभामा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले केन्द्रमा अपराध संहिता संशोधनको तयारी भइरहेका बेला प्रदेशले फेरि संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रताबिरोधी कानून बनाउन थालेको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।

महासंघले लामो संघर्ष गरेपछि केन्द्रमा सरकारले कार्यदल बनाएको र कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘केन्द्रमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याउने प्रयास भइरहेको छ, यही बेला प्रदेशमा प्रेस स्वतन्त्रताबिरोधी कानून बनाउन खोज्नु अपात्तिजनक छ, यसका बिरुद्ध महासंघ जस्तोसुकै आन्दोलन गर्न पनि तयार छ ।’

यसैबीच महासंघ दाङको साधारणसभाले बिशेष घोषणापत्र पारित गर्दै प्रदेशको सो कदमको भत्र्सना गरेको छ । ‘प्रदेश नं. ५ को सरकारले सञ्चार नीति बनाउने क्रममा सञ्चार सम्बन्ध सस्थासंग समन्वय नगरी प्रेस स्वतन्त्रताविरोधी मस्यौदा तयार पारेर मन्त्रि परिषद्बाट पारित गरी प्रदेशसभामा पेश गरिएकाले त्यसलाई तत्काल रोकी नेपाल पत्रकार महासंघसमेत सञ्चार सम्बद्ध सस्थाहरुसंग परामर्श गरी सञ्चार कानूनमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्न यो साधारण्भासभा प्रदेश सरकार र प्रदेशसभासँग माग गर्दछ’– घोषणापत्रमा भनिएको छ– ‘साथै स्थानीय कानुन बनाउँदा सञ्चारमैत्री बनाउन सबै स्थानीय तहहरुसँग यो साधारणसभा माग गर्दछ ।’

त्यस्तै महासंघले प्रदेश नं. ५ मा आम सञ्चार प्रतिष्ठान गठन गरी पत्रकारको दक्षता अभिबृद्धिका कार्यक्रम ल्याउन प्रदेश सरकारसँग माग गरेको छ ।साथै संघीय सरकारले गठन गर्ने भनिएको आम सञ्चार प्रतिष्ठान गठन पनि चाँडो गर्न पनि माग गरिएको छ ।

‘देशमा संघीयता आए पनि सञ्चार क्षेत्रमा संघीयताको अनुभूति हुन सकेको छैन’– घोषणापत्रमा भनिएको छ– ‘त्यसैले सञ्चारसँग जोडिएको सुचना विभाग, प्रेस काउन्सिल, श्रमजीवी पत्रकार पारिश्रमिक अनुगमन समिति आदिका सेवा जिल्ला तहमा विस्तार गर्न र कम्तीमा प्रेस प्रतिनिधि परिचयपत्र वितरण र नवीकरण जिल्लाबाटै गर्ने व्यवस्था मिलाउन यो साधारणसभा सरकारसँग माग गर्दछ । यसका लागि सहजीकरण गरिदिन महासंघ केन्द्रसँग यो साधारणसभा माग गर्दछ ।’

महासंघको दाङ शाखाले आफ्नै संस्थाको पनि पुनर्संरचना गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघको पुर्नसंरचनाका लागि लामो समयदेखि आवाज उठ्दै आए पनि आम साधारण सदस्यले केन्द्रिय नेतृत्व निवाचित गर्ने अबसर नपाएको भन्दै प्रत्यक्ष निर्वाचनको माध्यमबाट जिल्ला, प्रदेश र संघको महासंघ नेतृत्व एकैदिन निर्वाचित गर्ने गरी निर्वाचन प्रणाली परिमार्जन गर्न महासंघ केन्द्रिय समितिसँग माग गरिएको अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।